काठमाडौं- नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहसँग नाम जोडिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले स्पष्टीकरण दिएकी छिन्।
बतास समूहमा सल्लाहकार रहेको भन्दै सञ्चारमाध्यममा आएपछि राणाले फेसबुकमा स्टाटस लेखेर स्पष्टीकरण दिएकी हुन्। आफ्नो संलग्नता सम्बन्धमा समाचार आएको आफ्नो ध्यानाकर्षण भएको उनले फेसबुकमा उल्लेख गरेकी छिन्।
विभिन्न ६ संस्थाको नाम उल्लेख गर्दै डा देउवाले ती संस्थाबाहेक अन्य कुनै पनि संस्थासँग नजोडिएको दाबी गरेकी हुन्।
'संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ,' उनको स्टाटसमा उल्लेख छ, 'उल्लेखित संस्थाहरूबाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।’
डा राणाका अनुसार उनी ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार हुन्। यस्तै साथी, नेपालमा संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व संजाल महासंघमा संस्थापक एवं वर्तमान अध्यक्ष रहेको उनको भनाइ छ। यस्तै नामीमा अध्यक्ष र उल्लेन्स स्कुलमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका साथै ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)मा संरक्षक रहेको उनको भनाइ छ। यी संस्थाबाहेक कुनै पनि संलग्नता नरहेको उनले दाबी गरेकी छन्।