काठमाडौं– अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ।
कोभिड महामारीका बीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्ट लुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए। उनका अनुसार फिल्म प्रदर्शनको लागि तयार भइसकेको छ।
सार्वजनिक फर्स्ट लुकमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन्। वित्तीय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ।
यो फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन्। फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्माता दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ रहेका छन्।
निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ। बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो। फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित प्रभावलाई मध्यनजर गरेर छिट्टै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेर प्रचार प्रसारको थालनी गर्ने टिमले बताएको छ।