बिर्तामोड- नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १०औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।
विर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए।
नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १०औं जिल्ला अधिवेशनमा खुलासभा नहुने जानकारी दिए।
उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन्। अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ। उनले दिएको जानकारी अनुसार अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन्।
मञ्च व्यवस्थापन, प्रतिनिधिहरूलाई दिइने सामग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारीसमेत पुरा भइसकेको उनको भनाई छ।
१९ गते सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको अध्यक्ष मण्डलमा पार्टीका स्थायी कटिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ। अध्यक्ष मण्डलको सदस्यहरुमा सबै केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष, सचिव र प्रदेश सदस्य खगेन्द्र नेपाल रहेका छन्।
बैठकले बहस नोट कमिटी, माइन्यूट लेखनका लागिसमेत जिम्मेवारी तोकेको छ। कार्यलय सचिव ढुङ्गेलका अनुसार अधिवेशन बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ। दुवै दिनका लागि सोही समय तोकिएको उनले जानकारी दिए।