काठमाडौं- 'पोर्चुगल पठाइदिन्छु' भनी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेसनल टुर एन्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालकसमेत रहेका काठमाडौं मैतीदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका-६ का २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने सर्लाही बागमती नगरपालिका-१ का २४ वर्षीय समीर कार्की छन्।
'वर्किङ भिषामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ' भनी प्रलोभनमा पारी विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा मीनभवनले जानकारी दिएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।