परासी- व्यापारीको हत्या आरोपमा पश्चिम नवलपरासी प्रहरीले मंगलबार तीन जनालाई सार्वजनिक गरेको छ।
बर्दघाट नगरपालिका-१३ का व्यवसायी गोविन्द धोबीको असोज ६ मा हत्या गरेर नारायणी नदीमा फालेको अवस्थामा शव फेला परेको थियो। सुस्ता गाउँपालिका-१ मा मदिरा सेवन गराएर घाँटी थिचेर हत्या गरेको आरोप पक्राउ परेकाहरूमाथि लागेको थियो।
घटनामा संलग्न रहेको आरोपमा सुस्ता गाउँपालिका-१ का ३५ वर्षीय वीरबहादुर राजभर, सुदीपकुमार केवट र सुरेन्द्र कहारलाई पक्राउ गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीले घटनामा संलग्न मुन्ना कहार भने अझै फरार रहेको बताएका छन्।