काठमाडौं- निर्मला कुर्मी र नन्कुनी धोबीको न्यायका लागि माइतीघरमा आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच ४ बुँदे सहमति भएको छ। आन्दोलनरत पक्ष र सरकारबीच दोस्रोपटक मंगलबार सहमति भएको हो।
निर्मला र नन्कुनीको घटना छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली गठन गर्ने सहमतिपत्रमा उल्लेख छ।
त्यस्तै अभियानसँग सम्बन्धित अभियन्तालगायतको सुरक्षाव्यवस्था गृह मन्त्रालयले मिलाउने भएको छ। त्यस्तै, सरकारी छानबिन समितिले गृह मन्त्रालयमा पेस गरेको छानविन प्रतिवेदन सार्वजनिक गर्ने गरी दोषीलाई कारबाही गर्ने समहमति भएको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
सहमतिपछि माइतीघर मण्डलामा आमरण अनसनमा बसेकी अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छिन्। ४१ दिनयता माइतीघरमा चलेको धर्ना पनि स्थगित भएको छ।
दुवै पक्षबीच सहमति भएपछि प्राडा गोविन्द केसीको हातबाट जुस खाएर रुबीले अनसन तोडेकी हुन्। यसअघि गत असोजमा पनि गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भएको थियो।