धनकुटा- बहुला कुकुरको टोकाइबाट सोमबार १२ जना घाइते भएका छन्। घाइते भएका मध्ये १० जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।
दुई जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए। एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको प्रहरीले जनाएको छ। बालमन्दिर, कर्मीटार, चुलीवन, हुलाकटोललगायत क्षेत्रका स्थानीयलाई बहुला कुकुरले टोकेको छ।
कुकुर मार्न धनकुटा नगरपालिकाले नगर प्रहरी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए।