काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त प्रणालीका कारण हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा आँशिक बदली रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।