काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली फेरि कोरोना संक्रमणको हट स्पट बन्न थालेको छ। यहाँ केही दिन यता ५ ठूला अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा पर्ने क्रम बढ्दो छ।
सोमबार प्राप्त जानकारी अनुसार सफदरजन्ज अस्पतालमा २३, लेडी हार्डिंग मेडिकल कलेजमा १५, आरएमएलमा ११, एम्सको ट्रमा सेन्टरमा ६ र मौलाना आजाद मेडिकल कलेजमा चार रेजिडेन्ट डाक्टरमा संक्रमण पुष्टि भएको छ। यी पाँचै अस्पतालमा करिब ५९ जना डाक्टर तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ। यी अस्पतालमा ८० प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट अझै आउन बाँकी छ। ,,,
सफदरजन्ज अस्पतालमा दुई वरिष्ठ डाक्टर पनि कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यम अमरउजालामा उल्लेख छ। सो अस्पतालमा तीन बाल रोग विशेषज्ञमा पनि संक्रमण पुष्टि भएको छ। तर, यी स्वास्थ्यकर्मीमा ओमीक्रोन वा अन्य भेरिएन्ट हो भन्ने बारे भने पुष्टि हुन बाँकी छ।
मौलाना आजाद मेडिकल कलेजका आरडीए अध्यक्ष डाक्टर अविरलले अस्पतालका निकै व्यस्त रहने डाक्टरहरूमा नै संक्रमण पुष्टि भएको छ। उनीहरूमा कोरोनाको असर हल्का छ। तर, दिल्लीमा संक्रमण तीव्र रूपमा फैलिरहेको उनले बताएका छन्।
सफदरजङ्ग अस्पतालका एक वरिष्ठ अधिकारीले सोमबारसम्म २३ जनामा संक्रमण पुष्टि भएको बताएका छन्। उनले तीन जनालाई अस्पतालमा नै भर्ना गरिएको जानकारी दिएका छन्। यसरी दिल्लीमा संक्रमण तीव्र बनिरहेको भन्दै स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।