काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशनायकेका लागि पत्रकार सम्मेलन आयोजना गर्यो। विषम र महत्वपूर्ण परिस्थितिमा नेपाली टिम सम्हाल्न आइपुगेका दाशनायकेले पत्रकार सम्मेलनमा खेलाडी र क्यानबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
अहिले नेपाली क्रिकेट खेलाडीहरुको दुई गुट छ– सन्दीप लामिछानेलाई कप्तानको रुपमा समर्थन गर्ने एउटा समूह र अर्कोचाहिँ सन्दीपलाई कप्तान अस्वीकार गर्ने खेलाडीको समूह। अब त खेलाडीहरु खेल्ने वा नखेल्ने भने ठूलो निर्णय गर्ने अवस्थामा पुगिसकेका छन्। यस्तो अवस्थामा मुख्य प्रशिक्षकले खेलाडीहरुलाई कसरी मिलाएर लैजालान् त? ‘खेलाडीहरुको यो गुट त्यो गुट भन्ने हुँदैन। जसलाई देशको झण्डा छातीमा लगाएर खेल्न मन छ, उसले खेल्छ। जसले मान्दैन, उसले खेल्दैन,’ पुबुुदुले स्पष्ट शब्दमा भने।
अब आउने फेब्रुअरीमा नेपालले ग्लोबल क्वालिफायर खेल्दैछ। त्यसका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्ने खेलाडीको नाम सार्वजनिक गर्ने अन्तिम अवस्थामा पुगिसकेको छ क्यान। ‘प्रारम्भिक बन्द प्रशिक्षणका लागि ३० जना खेलाडी बोलाउने भएका छौं,’ क्यानका व्यवस्थापक विनोद दासले भने। बन्द प्रशिक्षण चलिरहँदा नै क्यानले प्रधानमन्त्री कप पनि आयोजना गर्ने भएको छ। प्रधामन्त्री कपमा यदि नयाँ खेलाडी देखिए भने त्यसलाई टिममा फेरि बोलाउने प्रशिक्षक पुबुदुले क्यानलाई बताएका छन्। उनका अनुसार सुरुमा ३० खेलाडीलाई बोलाइने छ। १०–१५ दिन उनीहरुलाई हेरिने छ।
पुबुदुले आफूलाई प्रशिक्षकमा नियुक्त गरेकोमा क्यानलाई धन्यवाल दिँदै भने, ‘केही महिनामै महात्पूर्ण खेल छ– विश्वकपको ग्लोबल छनोट। हामी चाँडै क्याम्प पनि सुरु गर्दैछौं। आज बेलुका वा भोलि बिहान हामी खेलाडीको नाम सार्वजनिक गर्नेछौं। त्यसको एक डेढ हप्तापछि हामीसँग पीएम कप पनि हुँदैछ। त्यसैले त्यो पनि तयारी गर्नुपर्नेछ।’
अहिले नेपाली क्रिकेट खेलाडीहरुको दुई गुट छ– सन्दीप लामिछानेलाई कप्तानको रुपमा समर्थन गर्ने एउटा समूह र अर्कोचाहिँ सन्दीपलाई कप्तान अस्वीकार गर्ने खेलाडीको समूह। अब त खेलाडीहरु खेल्ने वा नखेल्ने भने ठूलो निर्णय गर्ने अवस्थामा पुगिसकेका छन्।
प्रधामन्त्री कपका लागि भने क्यानले खेलाडी रिलिज गर्नुपर्ने हुन्छ। त्यसैले प्रशिक्षकले पीएम कपअघि नै क्रिकेटमा देखिएका सम्पूर्ण विवाद समाधान गर्ने र नयाँ दिशामा अघि बढ्ने योजना बनाएका छन्। पीएम कप पुस २५ गतेबाट आयोजना गर्ने क्यानको तयारी छ।
‘पछिल्लो चार वर्षदेखि नेपालका नयाँ खेलाडीलाई राम्ररी हेर्न पाएको छैन। त्यसपछि नयाँ खेलाडीमा धेरै परिवर्तन भएका छन्। तर मैले सबै जुनियर खेलाडी देखिसकेको छैन। म पीएम कपमा युवा खेलाडी हेर्न चाहान्छु,’ पुबदुले पत्रकार सम्मेलनमा भने। पीएम कप एकदिवसीय भइरहेको छ। त्यसलाई २० ओभरमा गर्नका लागि क्यानले पहल गरिरहेको छ। ‘हामीले राखेप र मन्त्रालयलाई २० ओभरको क्रिकेट गर्नका लागि प्रस्ताव गरेका छौं। ग्लोबल क्वालिफायर पनि २० ओभरको नै हुन्छ। त्यसैले २० ओभरको क्रिकेट खेल्नका लागि अनुरोध गरेका हौं,’ व्यवस्थापक दासले भने।
५० वा २० ओभर खेल्ने भन्ने अन्तिम निर्णय राखेपले शुक्रबारसम्ममा गर्ने उनले बताए। ‘राखेपले एकदिवसीय नै खेलाउने भन्ने अडान लिनुपर्ने कारण छैन,’ उनले भने।
यसबीच खेलाडी पीएम कपको टिममा पनि हुनेछन्। प्रतियोगिता सुरु हुनुअघि र त्यसपछि राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा हुनेछन्। तर यसपटक खेलाडी बन्द प्रशिक्षणमा घटबढ हुने सम्भावना धेरै छ। ‘हामीले अभ्यासमा पनि फोकस गर्नुपर्ने हुन्छ। हामीले टी २० सिरिज पनि खेल्ने योजना बनाउँदैछौं।’
पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक पुबुदुले राष्ट्रिय टिमको कप्तान तोक्ने अधिकार क्यानको भएको बताउँदै उसले गरेको निर्णयमा आफूले समर्थन गर्ने बताएका छन्। उनले सन्दीपलाई नै कप्तान बनाएर अघि बढ्ने पनि स्पष्ट पारे। ‘क्यानले कप्तानीबारेको निर्णय गरिसकेको छ। त्यो निर्णय अहिले टिममा लगातार हुनेछ। हामीले गर्नुपर्ने अरु धेरै कुराहरु छन्। यी विषयमा धेरै अल्झिनु हुँदैन,’ उनले भने। उनले क्यान बोर्डलाई निर्णय गर्ने स्वतन्त्रता रहेको पनि स्पष्ट पारेका छन्। भने, ‘मैले प्रशिक्षणका लागि क्यानबाट पूरा सहयोग पाएको छु। बोर्डलाई कप्तानीबारे निर्णय गर्ने स्वतन्त्रता छ। विश्व क्रिकेटमा त्यो भइरहेको नै हुन्छ।’
पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक पुबुदुले राष्ट्रिय टिमको कप्तान तोक्ने अधिकार क्यानको भएको बताउँदै उसले गरेको निर्णयमा आफूले समर्थन गर्ने बताएका छन्।
नेपालको टिमका लागि पहिलेजस्तै शतप्रतिशत दिने प्रतिबद्धता उनले व्यक्त गरे। भने, ‘खेलाडीमा विचार, ज्ञान र सीप लगानी गर्नेछु। मेरो अन्डरमा नेपाली टिमले राम्रो गर्नेछ। यो नै मैले गर्नसक्ने प्रतिबद्धता हो। म क्यान, खेलाडी र सपोर्ट स्टाफप्रति प्रतिबद्ध छु।’
क्यानको समर्थन गरेका पुबुदुले खेलाडीसँग पनि कुरा गरिसकेको र उनीहरुको समस्या बुझिसकेको बताए। भने, ‘मैले खेलाडीहरुको इस्यु बुझेको छु। मैले आफूलाई उनीहरुको ठाउँमा राखेर पनि हेरेको छु। मलाई लाग्छ, सबैलाई मिलाएर राम्रो क्रिकेट खेलाउन सक्छु।’ कारबाहीमा परेका खेलाडीहरु टिममा फर्किन्छन् त? जवाफमा उनले भने, ‘मलाई लाग्छ उनीहरु खेल्छन्। त्यो कुरा क्याम्प सुरु भएपछि मात्र थाहा हुन्छ। यहाँ कुनै ग्रुप हुँदैन, यो त राष्ट्रिय टिम हो। खेलाडीले व्यक्तिगत भन्दा देशका लागि सोच्छन् जस्तो लाग्छ। टिमको वातावरण राम्रो हुनेमा म अझै पनि सकारात्मक नै छु।’
ग्लोबल क्वालिफायर आउन ५० दिनजति बाँकी रहेको सुनाउँदै उनले केही दिनमै शतप्रतिशत समस्या समाधान हुने विश्वास व्यक्त गरे। ‘मैले क्यानका अध्यक्ष (चतुरबहादुर चन्द) सँग बसेर धेरै कुरा गरिसकेको छु। यो बोर्डको निर्णय हो, त्यसलाई म केही गर्न सक्दिनँ,’ उनले भने। तर खेलाडीहरु त आफैंमा विभाजित छन् नि भनेर पत्रकारले दोहोर्याएर सोधेको प्रश्नमा उनले भने, ‘क्यानसँग एक टिम मात्र छ। त्यो नेपाल टिम हो। हामी एक समूहमा हुनेछौं। खेलाडीको वरीयताबारे म सचेत छु। तर त्यो भन्दा ठूलो कुरा नेपाली टिम हो।’
उनले नवनियुक्त कप्तान सन्दीप लामिछानेबारे पनि आफ्नो धारणा व्यक्त गरेका छन्। भने, ‘सन्दीप राष्ट्रिय टिममा एक्कासि आएका खेलाडी हुन्। उनले अचानक कप्तानको जिम्मेवारी पाएका हुन्। उनले विश्वको धेरै स्टेजमा खेलिसकेका छन्। उच्च स्तरमा खेलिसकेका छन्। पीएसएल, क्यारेबियन लिग खेलिसकेका छन्। अष्ट्रेलियामा पनि खेलिसकेका छन्। उनी देशका सबैभन्दा अनुभवी र राम्रा खेलाडी हुन्। उनी यू–१९ कप्तान हुन्। उनले ईपीएलमा पनि कप्तानी गरिसकेका छन्। टिमका हिसाबले उनलाई धेरै चुनौती हुनेछन्। उनको कप्तानी राम्रो हुनेछ।
पुबुदुको दोस्रो इनिङ
पुबुदुले यसअघि पनि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक भएर चार वर्ष नेपालमा विताइसकेका छन्। बिहीबारको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यो बेला नेपालमा आउँदा वातावरण केही फरक थियो। अहिले नेपाल एकदिवसीय मान्यता पाइसकेको देश भएको छ। नेपाली टिम धेरै माथि पुगिसकेको छ। यहाँको वातावरण धेरै फरक भइसकेको छ। म यसअघि अमेरिकामा थिएँ। त्यहाँ पनि राम्रा खेलाडी थिए। तर मैले अमेरिकी टिम छोडें।’
अब उनले भविष्यका लागि योजना बनाउने पनि बताएका छन्। नेपाललाई अर्को स्तरमा पुर्याउने आफ्नो सपना रहेको उनले सुनाए। भने, ‘हामीले अब भविष्यका लागि योजना बनाउनुपर्छ। नेपालले अब गर्नुपर्ने धेरै छन्। नेपालमा धेरै उच्च स्तरका खेलाडी छन्। अरु एसोसिएट टिममा नेपालका जस्तो खेलाडी छैनन्। यद्यपि, अझै धेरै गर्नुपर्ने छ। नेपाल अर्को लेभलमा जान सक्ने देश हो। नेपालले पनि उच्च स्तरको क्रिकेट खेल्न सक्छ।’