शुक्रबार, असोज १६, २०८३

मासिक १६ करोडको डायपर खपत

नेपाली बालबालिका एवं अशक्त वृद्धवृद्धाका लागि मासिक १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौै– नेपाली बालबालिका एवं अशक्त वृद्धवृद्धाका लागि मासिक १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ। भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अङ्क उल्लेख भएको छ। 

डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ। समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो। हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रुपमा प्रयोग गर्दथे। 

आव २०७८/०७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट रु ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो। सबैभन्दा धेरै भारतबाट रु ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ। आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ। 

दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट रु दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ। उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ। 

तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ। पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर रु ४४ लाख ६६ हजार २१७ मा आयात भएको छ। शिुशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको काछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अङ्ग्रेजीमा ‘डायपर’ भनिन्छ।

नेपालले डायपर आयात गर्ने चौथो ठूलो मुलुक थाइल्याण्ड हो। थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर रु सात लाख ६६ हजार ४७६ मा आयात गरेको छ। त्यसैगरी डायपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङकङबाट एक थान डायपर आयात भएको विभागले प्रकाशन गरेको आव २०७८÷०७९ को चार महिनाको तथ्याङ्कमा उल्लेख छ। 

चार महिनाको डायपर आयातबाट राज्यले रु १८ करोड ७५ लाख ५९ हजार भन्सार असुली गरेको छ। डायपर आयातमा भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा डायपर उद्योगको ठूलो सम्भावना देखिन्छ। आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक रु दुइ अर्बको डायपर खपत हुने देखिन्छ। 
प्रकाशित: Dec 25, 2021| 14:25 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्