शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विलासिताका वस्तु आयातमा कडाइ गर्दैमा घट्दैन व्यापार घाटा, बिजुली उत्पादनको असर देखिएन

विलासिताका वस्तु आयातमा कडाइ गर्दैमा घट्दैन व्यापार घाटा, बिजुली उत्पादनको असर देखिएन

राष्ट्र बैंकले चिनी, ल्वाङ, विभिन्न कस्मेटिक सामान, जुत्ताचप्पल, सुर्तीजन्य वस्तु आयातमा कडाइ गरेको हो। यद्यपि ती वस्तुको आयात भने चालू आवको ५ महिनामा न्यून रहेकाले अपेक्षाअनुसार व्यापार घाटामा कमी नआउने देखिएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं– सरकारले चालू आवमा मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न विलासिताका वस्तु आयातमा कडाइ गरेको छ। तर विगतदेखि नै त्यस्ता वस्तुको आयात कम हुँदै आएको थियो। गत सोमबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै विभिन्न समूहका झण्डै ३ सय वस्तु आयातमा कडाइ गरेको थियो। 

यसरी कडाइ गरिएका वस्तुको आयात न्यून रहेको भन्सार विभागको तथ्यांक छ। राष्ट्र बैंकले औद्योगिक प्रयोजनका लागि आयात गरिने कच्चा पदार्थ, औषधिजन्य वस्तु र विद्युतीय सवारीसाधनबाहेकका विलासिताका वस्तु आयातका लागि ५० देखि सतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

सार्वजनिक सवारी आयात गर्दासमेत नगद मार्जिन अनिवार्य नगरेको राष्ट्र बैंकले निजी चारपांग्रे तथा दुईपांग्रे सवारी आयातका लागि ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

चालू आवको साउनदेखि मंसिरसम्म ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ।

चालू आवमा व्यापार घाटा उच्च बढेको भन्दै व्यापार घाटा न्यूनीकरणका लागि अर्थ मन्त्रालयको परिपत्रअनुसार राष्ट्र बैंकले चिनी, ल्वाङ, विभिन्न कस्मेटिक सामान, जुत्ताचप्पल, सुर्तीजन्य वस्तु आयातमा कडाइ गरेको हो। यद्यपि ती वस्तुको आयात भने चालू आवको ५ महिनामा न्यून रहेकाले अपेक्षाअनुसार व्यापार घाटामा कमी नआउने देखिएको छ।

राष्ट्र बैंकले ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेका वस्तुको आयात चालू आर्थिक वर्षको ५ महिनामा ७३ अर्ब रुपैयाँ बराबरको मात्रै रहेको भन्सार विभागको तथ्यांक छ। पाँच महिनामा झन्डै ७ खर्ब व्यापार घाटा रहेको अवस्थामा ७३ अर्ब रुपैयाँ मात्रैका वस्तुको आयातमा गरिएका कडाइले व्यापार घाटामा कमी नल्याउने देखिन्छ।

चालू आवको पहिलो ५ महिना (साउन–मंसिर) मा कुल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ। आयातको तुलनामा नेपाल राष्ट्र बैंकले ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेका वस्तुको आयात ८.७५ प्रतिशत मात्रै छ। यस हिसाबले राष्ट्र बैंकले आयातमा कडाइ गरेका वस्तुकै कारण मुलुकको व्यापार घाटामा उल्लेखनीय सुधार नहुने देखिन्छ। यद्यपि गत सोमबारदेखि मात्रै आयातमा कडाइ गरिएकाले त्यसको असर अर्को महिना मात्रै देखिने भन्सार विभागका अधिकारीहरु बताउँछन्।

व्यापार घाटा उच्च

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको पहिलो ५ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा उच्च छ। गत आवको पहिलो ५ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ५४.७० प्रतिशत वृद्धि भएको छ।

चालू आवको ५ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ। गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख ५१ हजार रुपैयाँ थियो।

भन्सार विभागका अनुसार चालू आवको साउनदेखि मंसिरसम्म ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ। सो अवधिमा  निर्यात भने १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँ बराबरको छ।

मुलुकबाट हुने निर्यात गत वर्षको सोही अवधिको तुलनामा दोब्बरले बढे पनि आयात झन् बढ्दा व्यापार घाटा चुलिएको हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५० अर्ब ५ करोड ५६ लाख ८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

बिजुली उत्पादनको असर देखिएन

नेपाल विद्युत् प्राधिकरणले मुलुकमा बिजुली उत्पादन बढेको र विद्युतीय सवारी चढ्नेको संख्यासमेत बढिरहेको दाबी गरिरहेको छ। गत आइतबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले गत वर्षको तुलनामा विद्युतको पिक डिमान्ड (माग) करिब ३ सय मेगावाटले बढेको दाबी गरेको थियो। 

‘विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ’, प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ, ‘प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो।’

प्राधिकरणले विद्युतीय उपकरणको प्रयोग बढेकाले विद्युतको मागसमेत करिब ३ सय मेगावाट बढेको दाबी गरे पनि त्यसको असर पेट्रोलियम पदार्थमा नपरेको भन्सार विभागको तथ्यांक छ। चालू आवको पहिलो ५ महिनामा गत वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात बढेको छ। 

मुलुकको वैदेशिक व्यापार घाटामा सबैभन्दा बढी भूमका खेलिरहेको पेट्रोलियम पदार्थको आयात रकममा झन्डै दोब्बरले बढेको विभागको तथ्यांक छ। गत आर्थिक वर्षको ५ महिनामा २३ अर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ४९ अर्ब रुपैयाँ बराबरको पेट्रोलियमम पदार्थ आयात भएको छ। 

यस वर्ष अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा रकममा दोब्बरले पेट्रोलियम पदार्थ आयात बढेको समेत देखिन्छ। परिमाणका हिसाबले गत वर्षको ५ महिनाको तुलनामा यस वर्ष १४ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको छ।


प्रकाशित: Dec 24, 2021| 13:04 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्