काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८ खर्ब रुपैयाँभन्दा बढी रकमको बराबरको आयात भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा ८ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको आयात भएको हो।
देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई ७ खर्ब ३५ अर्ब पुगेको छ। यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब बराबरको निर्यात भएको समेत विभागले उल्लेख गरेको छ।
गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको विभागले जानकारी दिएको छ। गत आवको मंसिरसम्ममा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब पाँच करोडभन्दा धेरैको निर्यात भएको थियो।
उच्च आयातका कारण मुलुको शोधानान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा सञ्चिति पनि घट्दै गएको छ। उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीलगायतका बहुमूल्य र सवारीसाधान, शृंगारलगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ।