काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हुने भएको छ।
आगामी ९ पुसमा पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिन लागेकाले उक्त प्राधिकरणको काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हुने भएको हो। पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बुधबार बसेको बैठकले पुनर्निर्माण प्राधिकरणअन्तर्गत भइरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, स्रेस्ता, कागजात तथा विवरणको हस्तान्तरण गर्ने निर्णय गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्फत सम्पादन भइरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरूको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरू अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत गरिने निर्णय समितिले गरेको हो।
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पुँजीगत खर्चको आर्थिक वर्ष २०७८/०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धी कार्यहरूको जिम्मेवारी पनि सोही प्राधिकरणलाई दिइएको छ। यसका साथै विश्व बैंकसँगको सम्झौता बमोजिम कार्यान्वयन भइरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, शोधभर्ना र प्रतिवेदन सम्बन्धी कार्य पनि अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ।
हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले नियमन गर्ने छ। त्यस्तै पुनर्निर्माण सम्पन्न भइसकेको रानीपोखरी काठमाडौं महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिने छ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित स्रेस्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन् ।
भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३(३) को व्यवस्था तथा सो अनुरूप नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ मंसिर १५ गतेको निर्णय अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आगामी ९ पुसमा सकिन लागेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तथा विस्थापित परिवारहरूको पुनर्स्थापना सम्बन्धी कार्यहरू सम्पन्न हुने चरणमा रहेका जानकारी गराएको छ।
बुधबार प्राधिकरण निर्देशक समितिको बैठकमा समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माण तथा पुनर्स्थापनामा प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पुर्याउनेहरूप्रति आभार व्यक्त गरे। प्रधानमन्त्री देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए। उनले हस्तान्तरण भएका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए। साथै पुनर्निर्माणका बाँकी कामका लागि बजेटको अभाव नहुने समेत उनको भनाई थियो।