काठमाडौ– बुधबार नेपाली सेयर बजारमा उछाल आएको छ। सेयर बजारको परिसूचक नेप्सेले २५ सय अंक नाघेको छ। आज नेप्सेले ९२.१६ अंकको छलाङ मारेसँगै २५०७ अंकमा पुगेको हो।
कारोबार रकम मंगलबारको तुलनामा झण्डै दोब्बर भएको छ। मंगलबार २ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
आज सबै उपसमूहमा हरियाली छाएको छ। बैंकिङ ३७, व्यापार २०२, होटल तथा पर्यटन १०३, विकास बैंक २३०, जलविद्युत १६२, फाइनान्स ७४, निर्जीवन बीमा ४८७, उत्पादन ४५२, अन्य ६४, माइक्रोफाइनान्स १८२ र जीवन बीमा उपसमूह ५०२ अंकले बढेका छन्।
आज १८६ कम्पनीको सेयर मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर रह्यो। ४ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। अरुण भ्याली हाइड्रो, वरुण, माथिल्लो तामाकोसी, शिवम् सिमेन्टको मूल्य १० प्रतिशतले बढेको हो। स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको छ। धेरै कारोबारका आधारमा हिमालयन डिस्टिलरी अगाडि रह्यो।