शनिबार, पुस ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • तिनाउ-दानव करिडोरको स्थानीयद्वारा विरोध, हजार परिवार विस्थापित हुने चिन्ता

Siddartha premir insuranceSiddartha premir insurance

तिनाउ-दानव करिडोरको स्थानीयद्वारा विरोध, हजार परिवार विस्थापित हुने चिन्ता

पौडेलले तिनाउ दानव करिडोरलाई विकासको नयाँ अवधारणाका रुपमा अघि सारेका हुन्। पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा तिनाउ र दानव नदी किनारको दुवैतर्फ सडक निर्माणका लागि डीपीआर अध्ययन गर्न बजेट छुट्याइएको थियो ।
 |  मंगलबार, पुस ६, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

मंगलबार, पुस ६, २०७८

ntc landingntc landing

बुटवल- नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देहीका जनप्रतिनिधि विष्णु पौडेलले बुटवलका प्राय: कार्यक्रममा गर्ने भाषण हो-  ‘तिनाउ र दानव नदी किनारमा आर्कषक सडक बन्‍नेछ, यो विकासको नयाँ आधार बन्‍नेछ।’ पौडेलले तिनाउ दानव करिडोरलाई विकासको नयाँ अवधारणाका रुपमा अघि सारेका हुन्। पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा तिनाउ र दानव नदी किनारको दुवैतर्फ सडक निर्माणका लागि डीपीआर अध्ययन गर्न बजेट छुट्याइएको थियो ।

himalayan bank box

दोस्रो कार्यकाल फेरी अर्थमन्त्री भएको बेला २०७७ माघ १० गतेका दिन पौडेलले करिडोरको शिलान्यास गरे।

विकासमा नमुना बनाउने भन्दै पौडेलले करिडोरको शिलान्यास त गरेँ। तर, करिडोरले नदी किनारमा बसोबास गर्ने झन्डै ७५ हजार घर परिवार विस्थापित हुने अवस्था देखिएको छ। रुपन्देहीको तिनाउ र दानव नदी किनारमा करिडोर निर्माणले गती लिन थालेपछि स्थानीयहरु विरोधमा उत्रेका छन्।

तिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०–१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने योजना छ।

कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका झण्डै एक हजार परिवारले आफूहरुको व्यवस्थापन नगरी सडक निर्माणको काम थालेको भन्दै व्यवस्थापन नगरेसम्म काम अघि बढ्न नदिने चेतावनी सहित अवरोध गरेका छन्। स्थानीयहरुले संघर्षसमिति नै गठन गरेर आन्दोलन सुरु गरेका छन्।

vianet

संघर्ष समितिका संयोजक आत्म बहादुर रानाले कोरिडोर क्षेत्रमा २० हजार घरधुरी रहेको दाबी गर्दै बुटवल उपमहानगरपालिकाले कोरिडोर क्षेत्रमा स्थानीयसँग कुनै विवाद नभएको भनी सडक डिभिजनलाई झूठो पत्र पठाएर ठेक्का लगाएको बताए। ‘विकासका नाममा जनतालाई विस्थापित गर्ने काम भइरहेको छ, यो स्वीकार्य हुन्‍न,’ उनले भने।

३० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दालाई झुक्याएर जग्गामा विवाद छैन भनेर सडक डिभिजनलाई झूठो पत्र पठाउने काम बुटवलका नगरप्रमुख शिवराज सुवेदीले गरेको उनले बताए ।

करिडोरविरुद्ध विरोधमा उत्रिएका स्थानीयहरु। 

गत वर्षको मंसिरदेखि करिडोरको काम सुरु भए पनि प्रभावित बासिन्दाको व्यवस्थापनको बारेमा सडक डिभिजन र उपमहानगरपालिकाले कुनै चासो दिएका छैनन्।

तिनाउ तथा दानव नदी किनारमा बुटवल–२, ५, ७, ९, ११, १३, १४ र १७ तथा तिलोत्तमा नगरपालिका– ३ का मैनाबगर, श्रीरामनगर, सुन्दरनगर, शौभाग्यनगर, पबित्रानगर, सत्यवती  टोल, हात्तिसुड, प्रगतीनगर, मजुवा, टपमजुवा, दुर्गानगर, ध्रुवनगर, न्यू दुर्गानगर, युद्वनगर, बुद्वनगर,  श्रृजनानगर, ताराटोल, पदमपुर, हरियालीटोल, रानीगन्ज टोलका सुकुम्बासी तथा अव्यबस्थित बसोबासका बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन्। ‘गरिब र विपन्‍नलाई विस्थापित गर्न लागेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो,’ संघर्ष समितिका सचिव बिष्णु सुनारले भने।

डिभिजन सडक कार्यालय बुटवलका डिभिजन प्रमुख जयलाल मरासिनीले स्थानीयको विरोधका कारण सडक निर्माणको कामले गति लिन नसकेको स्वीकार गरे। तर, बुटवल उपमहानगरपालिकाले स्थानीयलाई विस्थापित गर्दा अर्को व्यवस्था गर्ने लिखित कागजात गरेकाले निर्माण काम थालिएको बताए ।

उनका अनुसार तिनाउतर्फ ८ प्रतिशत र दानवतर्फ ३० प्रतिशत काम सम्पन्‍न भएको छ।  बुटवलको तिनाउ पुलमुनिबाट तिनाउ र दानव नदी छुट्टिने  बिन्दुबाट सुरु भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने यी दुई वैकल्पिक सडक बनाउन चार अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउने सडकको दुवै करिडोरमा एकसाथ काम सुरु गर्न आर्थिक वर्ष २०७६-७७ मा  ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण प्रक्रिया थालेको हो। गत आर्थिक वर्ष एक अर्ब ३५ करोड र चालु वर्षमा ३० करोड बजेट विनियोजन गरिएको थियो।

दुवै नदीको वारी र पारीपट्टी सात मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुने डीपीआरमा उल्लेख छ।

तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारको काम २७ महिनामा सक्ने सम्झौता भएको थियो। सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले काम सुरु गरेको हो।

प्रकाशित: Dec 21, 2021| 17:20 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्