काठमाडौं– उच्चशिक्षाको एउटा तह पार गरेपछि सबैको चाहना हुन्छ दीक्षित हुने। दीक्षान्त समारोहमा अभिभावक र साथीभाइलाई सँगै लैजाने, तस्बिर खिच्ने, खुसी साट्ने र उज्यालो भविष्यको कामना गर्ने। तर त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा पदक प्राप्त गर्ने विद्यार्थीले खुसी साट्न नपाउँदा खल्लो महसुस गरेका छन्।
दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थी दीक्षित भएको घोषणा गरिएको थियो। समारोहमा विद्यावारिधि (पीएचडी), दर्शनाचार्य (एमफिल) उपाधि प्राप्त र स्नातकोत्तर एवम् स्नातक तहका पदकधारीलाई मात्र सहभागी गराइएको थियो। पदक प्राप्त गर्नेले पनि गलामा लगाउन पाएनन्।
स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी भने त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाट मन अमिलो बनाएर फर्किएका छन्। भित्र दीक्षान्त समारोह भइरहँदा केही विद्यार्थी गेटबाहिरै बसेर टुलुटुल हेरिरहेका थिए।
अभिभावकलाई समारोह स्थलमा प्रवेशमा रोक लगाउनुका साथै हातमा पदक दिएपछि असन्तुष्टि जनाएका छन्। त्रिवि प्रशासनले कोभिड १९ महामारीका कारण देखाउँदै स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थीलाई समारोहमा सहभागी हुन नदिएको हो। प्रवेश पाएका पदाधिकारी पनि हातमा पदक थमाइएको भन्दै असन्तुष्ट बनेका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर तहमा स्वर्णपदक विजेता काठमाडौं थलीकी सफला धितालले आफूलाई पदक हातमा थमाउँदा दुःख लागेको बताइन्। उनले भनिन्, ‘अरू सबै काम गर्न कोरोनाले छुँदैन। सुरक्षाको मापदण्ड अपनाएर पदक लगाइदिनुपर्ने हो।’ उनले अन्तराष्ट्रिय सम्बन्ध अध्ययन गर्न आफूले मिहनेत गरेर पढेकाले सफलता मिलेको बताइन्। ‘थलीबाट कीर्तिपुर आएर पढ्न त्यति सहज थिएन तर बस फेर्दै यहाँ आएर पढ्न कठिन भए पनि अहिले प्राप्त भएको नतिजाले साह्रै खुसी मिलेको छ।’
यस्तै दु:खेसो व्यवस्थापन संकायमा एमबीएमा स्वर्णपदक विजेता मेरिना नेपालीको पनि छ। उनले दीक्षान्त समारोहमा सहभागी हुन अभिभावकलाई ल्याएको भए पनि समारोह स्थलमा लैजान नपाएको बताइन्। एमबीएमा ३ं.९२ जीपीए ल्याएर सर्वोत्कृष्ट स्थान हासिल गरेकी उनलाई आफूले गरेको मिहनेतले नै सफलता मिलेको उनको बुझाइ छ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ५९औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए। त्यसमा विद्यावारिधि, डीएम/एमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन्। कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा समारोह आयोजना गरिँदै आएको छ।
दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थी मात्र आमन्त्रण गरिएका थिए। त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औं ग्रेससलिस्टमा समावेश भएका विद्यार्थीलाई त्रिविले दीक्षित गरेको हो। समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रोभी रामगोपाल राव प्रमुख अतिथिका रुपमा उपस्थिति भएका थिए।