बिहीबार, भदौ ४, २०८३

मेरो भूमिका त खेलको अम्पायर जस्तै मात्र हो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलको भूमिका निर्णायक हुने बताएका हुन्। उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए। 

संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए। उनले भने, ‘सदन भनेपछि पार्टीहरूकै भूमिका निर्णायक हुन्छ। सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख। जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ,' उनले भने।

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत नभएको बताए।

उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए। उनले भने,  ‘उहाँहरूले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानुन अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्। जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैभरी त्यही गर्न म प्रतिबद्ध छु।’

भोलिदेखि संसद् अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर संसद् सचिवालयको तयारीको अवलोकन गरेका छन्। 

संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरू र कर्मचारी लगायतको एन्टीजेन परीक्षण भइरहेको पनि जानकारी दिएको छ।

प्रकाशित: Dec 13, 2021| 13:34 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...