बिहीबार, भदौ ४, २०८३

शेखरका कमाण्डर गगन, देउवालाई रोकिछाड्ने निधिको दाउ

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मतदान भइरहेको छ। मतदान सुरु हुनुअघि र मतदान जारी रहँदा उम्मेदवारहरु भोट माग्नमै व्यस्त छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मतदान भइरहेको छ। मतदान सुरु हुनुअघि र मतदान जारी रहँदा उम्मेदवारहरु भोट माग्नमै व्यस्त छन्। शुक्रबारबाट सुरु भएको महाधिवेशनमा उम्मेदवार बनेका नेताहरुले आ–आफ्नै शैलीमा प्रचार गरिरहेका छन्।

खासगरी सभापतिमा उम्मेदवारी दिएका नेताहरुको दौडधुप तीव्र छ। महाधिवेशनमा उनीहरुले आफ्नो प्रचार त गरिरहेका नै छन्। त्यो बाहेक पनि उनीहरु भेटघाट र रणनीति बनाउन व्यस्त देखिन्छन्। सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङको दौडधुप तीव्र छ।  

देउवा र शेखरको नीतिः रामचन्द्र र शशांकका नाममा प्रचार 

महाधिवेशनको नेतृत्व चयन प्रक्रियाबाट अलग भएका वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन लिन नेताहरुले ठूलै कसरत गरेका छन्। भलै पौडेलले आफू तटस्थ बस्ने बताएका छन्। तर, शनिबार मनोनयन दर्ता गरेलगत्तै नेताहरु बोहोराटार पुगेका थिए। मनोनयन दर्ता गरेलगत्तै शेखर कोइराला नेतृत्वको प्यानल बोहोराटार पुगेको थियो। शनिबार राति नै सभापति देउवा पनि बोहोराटार पुगेका थिए। दुवैको एकै अपेक्षा थियो– आफ्नो पक्षमा समर्थन जुटाउनु। जसले पौडेल र शशांकको मत आफूतिर तान्न सहज होस्। शेखरले आइतबार साँझ पत्रकार सम्मेलन गरेर रामचन्द्र र शशांकको आशिर्वाद आफ्नो समूहमा रहेको दावी गरेका थिए।  

शेखरको दावीसँगै देउवाको सचिवालयले मध्यरातमा रामचन्द्र र शशांकको समर्थन रहेको समाचार बाहिर ल्याएको थियो। शनिवार पौडेल र आइतबार शशांकसँग देउवाले भेटेको र दुवै नेताले समर्थन दिने बताएको समाचार देउवाको सचिवालयले बाहिर ल्याएको थियो। तर, पौडेल र शशांकको सचिवालयले उक्त समाचार भ्रामक रहेको भन्दै खण्डन गरिसकेका छन्। मतदान सुरु हुनुअघि पनि शेखर पौडेललाई भेट्न बोहोराटार पुगेका थिए। पौडेलले शेखरलाई जितको शुभकामना दिएका छन्। मतदान अघि भृकुटीमण्डप पुगेका शशांकले भने आफू कुनै पनि गुटमा नभएको बताएका छन्। देउवालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहयोग छ भने शेखर चर्चित युवा नेता समावेश रहेको प्यानल सहित मैदानमा उत्रिएका छन्।   

उपत्यकाको मतसँगै कोइराला र शर्माको भरमा प्रकाशमान 

सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह काठमाडौं उपत्यकाको मत आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छन्। काठमाडौंका सभापति सबुज बानियाँ र ललितपुरका सभापति जितेन्द्र मलेखुको साथ प्रकाशमानलाई छ। सँगै गिरिजाप्रसाद कोइराला पुत्री सुजाता र युवा नेता विश्वप्रकाश शर्मा सिंहको टिमबाट उपसभापति र महामन्त्रीका उम्मेदवार छन्। गिरिजाको लिगेसीको मत र शर्माका कारण युवा पुस्ताबाट आउने मतसँगै उपत्यकाको मत बढीभन्दा बढी आफ्नो पक्षमा पार्ने रणनीतिमा प्रकाशमान देखिएका छन्।  

देउवालाई रोकिछाड्ने निधिको दाउ  

सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधि देउवालाई रोकेरै छाड्ने रणनीतिमा अघि बढेका छन्। आफ्नो प्रभाव क्षेत्र प्रदेश नम्बर २ को मत बढीभन्दा बढी आफ्नो पक्षमा पारेर सभापति पदको निर्वाचनलाई दोस्रो चरणमा धकेल्ने योजना निधिको छ। त्यही अनुसार उनी अघि बढेको देखिन्छ। कांग्रेसको विधान अनुसार सभापति पदमा दुईभन्दा बढी उम्मेदवार भए निर्वाचित हुने उम्मेदवारको मत ५१ प्रतिशत आउनुपर्ने व्यवस्था छ।

कुनै उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसके दोस्रो चरणमा मतदान हुनेछ। दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुनेछ। पहिलो चरणमा देउवालाई जित्नबाट रोक्न सके दोस्रो चरणमा पराजित गर्न सकिने निधिले बुझेका छन्। र, सार्वजनिक अभिव्यक्ति समेत दिएका छन्। उनले आइतबार पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘पहिलो चरणमा ५१ प्रतिशत कसैले कटाउने देखिँदैन। दोस्रो चरणमा देउवा इतरमा रहेका हामी मिल्छौं र देउवालाई पराजित गर्छौं।’ 

देउवालाई सत्ताच्यूत हुने त्रास 

सभापति देउवालाई सभापति पराजित भए सत्ताबाट बाहिरिनुपर्ने त्रास छ। उनले आइतबार भनेका थिए, ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ। मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले। त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ।’

उनले आफ्नो अन्तिम बेला भएको र आफूले जिते प्रधानमन्त्री रहिरहने र त्यसो भए गाउँदेखि माथिसम्म जित्ने र नभए त्यो सम्भव नहुने बताए। उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भयो भने स्थायित्व हुने तर्क पनि अघि सारेका छन्। 

आफूले हारे गठबन्धन सरकार ढल्ने भन्दै उनले चेतावनी दिइरहँदा सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले भने त्यसलाई अस्वीकार गरिदिएका छन्। उनले देउवा पराजित हुँदा गठबन्धन अझै बलियो बन्ने तर नेतृत्व परिवर्तन हुने बताए। ‘नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ। यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ र संगठित भइकन यो गठबन्धनलाई निर्वाचनमा हामी होमिन्छौं,’ उनले भने। 

शेखरका कमाण्डर गगन

शेखरका चुनावी कमाण्डर गगन देखिएका छन्। महामन्त्रीका उम्मेदवार समेत रहेका थापा कार्यकर्ता माझ लोकप्रिय छन्। शेखरले गगनको साथ त पाएकै छन्, सँगै शेखरले गगनबाट ठूलो आशा समेत राखेका छन्। थापाले आइतबार भनेका थिए ‘नेपाली कांग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०–१२ लाख मतदाता थप्नुपर्छ। यसका लागि यस्तो नेतृत्व चाहियो कि कांग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दा पार्टी बाहिरका मान्छेहरुलाई कांग्रेसमा आऔंआऔं लागोस्। कांग्रेसको घरभित्र पसौं पसौं लागोस्। शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ।’

प्रकाशित: Dec 13, 2021| 12:20 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...