काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदान स्थल पुगेका छन्। कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएसँगै देउवा भृकुटी मण्डप पुगेका हुन्।
सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु भएको छ। निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको बताएका छन्। साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ।
कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए।
अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन्। कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन्।