काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्। नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेता कोइरालाले आफूले गुटगत राजनीति अन्त्य गर्न चाहेकोले कुनै पनि गुटमा नभएको स्पष्ट पारेका हुन्।
मतदानमा सहभागी हुन मतदान स्थल जाँदै गर्दा प्रदर्शनी मार्गमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'म कुनै गुटमा छैन। त्यही भएर दुवैको प्यानलमा मेरो नाम छ। म ग्रुपिजम अन्त्य चाहन्छु।’
शशांकलाई सभापतिका उम्मेदवारद्वय शेरबहादुर देउवा र शेखर कोइराला दुवैका समूहले आफ्नो सूचीमा समावेश गरेका छन्।
कांग्रेस नेतृत्व चयनका क्रममा साझा उम्मेदवार चयन गर्न मार्ग प्रशस्त गरेको भन्दै सभापतिको दौडबाट उनी पछि हटेका थिए। अहिले सभापतिका लागि पाँच जना चुनावी मैदानमा छन्।
कांग्रेसको १३४ पदका लागि ४९१ जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने चार हजार ७४३ जनाले मतदान गर्ने भएका छन्।