बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस मतदान जारी : १३४ पदका लागि ४९१ जना मैदानमा, ४ हजार ७४३ जनाले मतदान गर्दै

कांग्रेस मतदान जारी : १३४ पदका लागि ४९१ जना मैदानमा, ४ हजार ७४३ जनाले मतदान गर्दै

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार मतदान जारी छ
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ। शुक्रबार औपचारिक उद्घाटन भएको कांग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको हो। आइतबार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भएको थियो। सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण केही समय ढिलो भएको हो। 

सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदाताहरुले मतदान गरिरहेका छन्।

निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति (एक) पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्नेछन्। सभापतिका लागि उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानले भने उम्मेदवारी फिर्ता लिएका हुन्।

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्‍न भए पश्चात् सभापति पदको मतगणना हुनेछ। पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

राष्ट्रिय सभागृहको मतदानस्थलमा लामबद्ध मतदाताहरु।

भृकुटीमण्डपस्थित मतदान स्थलमा मतदाता मतदान गर्न लामबद्ध छन्। भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्थापन गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

समितिका अनुसार प्रदेश–१, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो। 

यस्तो छ देउवा टिम

सभापतिका प्रत्याशीहरूले आफ्नो टिमको नमुना मतपत्र बाँडिरहेका छन्। सबैले आफ्नो टिमलाई विजयी गराउन  आग्रह गरिरहेका छन्।

नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ। 

देउवा समूहले बाँडेको नमुना मतपत्रमा ३५ सिटका लागि हुने खुला सदस्यमा उनको नाम उल्लेख छ। कांग्रेस निर्वाचन समितिले दिइने मतपत्रको क्रम संख्या ८१ शशांकको नाम रहेको जनाउ दिने गरी देउवा समूहले नमुना मतपत्र बाँडेको छ। तर, शशांकको सचिवालयले भने उनी शेखरसँगै रहेको जानकारी गराएको छ। 


यस्तो छ शेखर प्यानल

सभापतिका प्रत्याशी शेखर कोइराला पनि प्यानलसहित चुनावी मैदानमा छन्। 

उक्त समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार रहेका छन्।

आठ जना सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, वकिल मियाँलाई रहेका छन्।

निधि र प्रकाशमानको प्यानल

सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले पनि उपसभापति र महामन्त्रीमा क्रमश: सुजाता कोइराला र विश्वप्रकाश शर्मा रहेका छन्। त्यस्तै निधिले पनि दिव्यश्‍वरी शाहलाई उपसभापति र राजाराम कार्कीलाई महामन्त्रीको उम्मेदवार बनाएका छन्। 

सभापतिमै प्रतिस्पर्धा गरिरहेका कल्याणकुमार गुरुङले भने एक्लै प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रकाशित: Dec 13, 2021| 12:08 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...