बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिलाई नै 'दिक्क' लाग्छ कांग्रेस उम्मेदवारको प्रचार, भन्छन्– भोटै नदिउँ झैं बनाए

प्रतिनिधिलाई नै 'दिक्क' लाग्छ कांग्रेस उम्मेदवारको प्रचार, भन्छन्– भोटै नदिउँ झैं बनाए

महाधिवेशनस्थलमा घाँटीमा उम्मेदवारको पोस्टर नझुन्डाएका कार्यकर्ता भेट्न मुस्किल छ। भित्ता र पोल ब्यानर र पम्प्लेटले भरिभराउ छ। उम्मेदवारका ठूलो फोटोअगाडि टिकटक बनाउनेको लर्को पनि उस्तै छ।
 |  आइतबार, मंसिर २६, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेतृत्व चयनमा केन्द्रित भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उमेदवारहरुले आफ्नो पक्षमा भोट माग्दै अन्तिम प्रचार प्रसार गरिरहेका छन्। बाजागाजासहित भीड जम्मा गरेर नारा लगाउँदै उनीहरु भोट मागिरहेका छन्। पुतलीसडक पद्मोदय मोडदेखि पर्यटन बोर्डसम्मको सडक कब्जामा लिएर उनीहरु नाचगानसहित मत दिन अपिल गरिरहेका छन्। 

triton college

उमेदवारका समर्थकले समूह बनाएर गरिरहेको प्रचारको भीड थेग्न प्रहरीलाई हम्मेहम्मे परेको छ। निकै भड्किलो शैलीबाट हजारौँ कार्यकर्ताले फरक फरक शैलीकासाथ आफ्ना उमेदवारको पक्षमा प्रचार गरिरहेको दृष्यले जो कोहीको ध्यान तान्थ्यो। कोही छातामा उमेदवारको फोटो टाँगेर, कोही बेलुन झुन्डयाएर उमेदवारको पक्षमा मत मागिरहेका छन् त कोही विभिन्न जनतातिका पोशाक लगाएर बाजागाजासहित मत माग्नेहरू पनि छन्। झ्याली, ढोलक, मादल, नरसिङ्गा बजाएर मत माग्नेहरूको घुँइचो पनि उतिकै छ। 

महाधिवेशनस्थलमा घाँटीमा उम्मेदवारको पोस्टर नझुन्डाएका कार्यकर्ता भेट्न मुस्किल छ। भित्ता र पोल ब्यानर र पम्प्लेटले भरिभराउ छ। उम्मेदवारका ठूलो फोटोअगाडि टिकटक बनाउनेको लर्को पनि उस्तै छ।

महाधिवेशन प्रतिनिधिहरुकै भाषामा भन्दा निकै भड्किलो शैलीबाट उमेदवार र उनीहरुका समर्थकहरुले प्रचार प्रसार गरिरहेका छन्। डोटीबाट आएका महाधिवेशन प्रतिनिधि कुमारसिंह टेलरको शब्दमा त भोट माग्ने नाममा यतिखेर उमेदवारहरुले शक्ति प्रदर्शन गरिरहेका छन्। 'प्रचारका नाममा पैसाको खोलो बगाइरहेका छन्। महाधिवेशन जस्तो कुरा हो, उत्सवका रुपमा लिनु स्वभाविक हो। तर, यसरी भड्किलो शैलीबाट शक्ति प्रदर्शन गर्नु, नीति र विचारलाई बागमतिमा बगाएर मेचीकाली के भन्छ, फलानोलाई ले भन्छ भन्नु साह्रै लज्जाको विषय हो,' उनले भने । 

उनका अनुसार यसरी गरिएको प्रचारले मतदाताको मन जित्न त परको कुरा भोट दिउ लागेको मान्छेलाई समेत भोट नदिउँ झैं बनाएको छ। ‘झर्को लाग्ने गरी ठूला आवाजमा नारा लगाएर मान्छे हिड्नै नसक्ने गरी बाटो कब्जामा लिएर, फोटो झुन्ड्याउँदै हिडेर उमेदवारहरुले आफ्नो मात्रै होइन पार्टीको समेत बेइज्जत गरेका छन्। यस्तो तडकभडक देख्दा भोट दिउँ लागेको उमेदवारलाई नदिउ झै बनाएका छन्,’ उनले भने। 

corrent noodles
Metro Mart

शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँगै कांग्रेसमा राजनीति गरेका पुराना नेता युवराज शर्मा पनि यो महाधिवेशनमा अस्वभाविक तडकभडक देखिएको टिप्पणी गर्छन्। बाँकेबाट महाधिवेशन प्रतिनिधिका रुपमा आएका उनी विचारको राजनीति गर्न कांग्रेस छाडेको भन्दै गुनासो पोखिरहेका थिए। ‘विचारको राजनीतिमा विश्वास गर्ने कांग्रेसमा रामचन्द्र पौडेल, प्रदीप गिरीहरु हुनुहुन्थ्यो। देखिहाल्नु भयो उहाँहरुलाई कस्तो अवस्थामा पुर्‍याइयो। यहाँ विचारभन्दा यस्तै तडकभडक गर्ने, पैसा खर्च गर्नसक्ने र शक्ति प्रदर्शन गर्नेहरुको बाहुल्यता बढ्दै गएको छ,’ उनले भने।  

प्रधानमन्त्री सभापति देउवा २०२८ सालमा नेविसंघको सभापति हुँदा शर्मा उपसभापति थिए। उनी त्यसबेलाको राजनीति सम्झिदै भन्छन्- ‘उतिबेला त्याग र संघर्ष गरेका नेताहरुले अवसर पाउँथे। नेताहरुमा पार्टीलाई मैले के दिन सक्छु भन्ने भाव हुन्थ्यो। अहिले त लिन सक्छु भनेर मुख बाउनेहरु हाबी भएका छन्। त्यसबेलाका महाधिवेशन विचार केन्द्रित हुन्थे। अहिले व्यक्ति केन्द्रित हुँदै गएको छ। यो साह्रै दुःखदायी छ।’  

बीपी कोइरालासँग २०२५ सालदेखि सँगै पार्टीको काम गरेका शर्मा अहिलेको महाधिवेशनमा उम्मेदवारहरुले गरेको प्रचारले आफूलाई थोरै पनि नछोएको बताउँछन्। ‘हामी विचार र नीतिमा विश्वास गर्छौं। यहाँ न विचार छ न उमेदवारको कुनै योजना नै सुन्न पाइएको छ। नारा लगाउने, गीत बजाउने काममा उम्मेदवार व्यस्त छन्। हामीले उस्तै परे उमेदवार नै देख्न नपाइने अवस्था बनिसक्यो। अनि कसरी मत दिन मन लाग्छ,’ उनले प्रश्न गरे। 

केन्द्रीय सदस्य पदकी उम्मेदवार सुताजा परियालाई पनि अहिले भोट माग्ने नाममा जे जस्ता गतिविधि भैरहेको छ, त्यो ठिक लागेको छैन। उनी भन्छिन्– ‘यहाँ प्रचारका नाममा शक्ति प्रदर्शन गर्ने काम भैरहेको छ। आर्थिक  अवस्था कमजोर भएका व्यक्ति त उम्मेदवार नै हुन नसक्ने अवस्था बन्यो। यो ठिक होइन। यसले पार्टीका लागि संघर्ष गरेका कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई ठूलो धक्का लागेको छ। यसलाई विधान संसोधन गरेर भएपनि नियमन गर्नुपर्छ,’ पार्टीमा थिति बिग्रिँदै गएको उनको टिप्पणी छ। 

नेपाली कांग्रेसको उपसभापति पदका उमेदवार चन्द्र भण्डारी पनि महाधिवेशको प्रचार शैली भड्किलो भएको स्वीकार गर्छन्। प्रचार प्रसारमा पहिला हेरि अलि तडक भडकपूर्ण भएकै हो। 'हामी सामान्य ढंगले प्रचार गरिरहेका छौँ। सत्तामा बसेर पैसा कमाएकाहरुको त फाल्ने ठाउँ छैन। त्यसैले यस्तो तडक भडक गरिरहेका छन्,' उनले भने। यस्ता विकृतिलाई आफू नेतृत्वमा आए सुधार्दै लैजाने उनको भनाइ छ। 

प्रकाशित: Dec 12, 2021| 21:40 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...