शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुनर्निर्माण सम्मेलन सम्पन्न, प्रधानमन्त्रीले भने- विनाशलाई अवसरमा बदल्न सफल भयौँ

पुनर्निर्माण सम्मेलन सम्पन्न, प्रधानमन्त्रीले भने- विनाशलाई अवसरमा बदल्न सफल भयौँ

समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिए।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो।

२०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो। समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिए।

प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको उल्लेख गर्दै अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताए। 

'विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुन:स्थापना अन्तिम चरणमा पुगेको छ। विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं,' उनले भने। 

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पुर्‍याएकोमा प्राधिकरणको सह्राना गरेका थिए। पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरु आदानप्रदान भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा प्राप्त यी अनुभवहरु भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागहरुलाई पनि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।

सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारहरुलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामथ्र्यवान बनाउनुपर्नेमा जोड दिंदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय तहहरुलाई सामर्थ्यवान बनाइनुपर्ने धारणा राखे। 

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन वंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमीको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गर्दै नेपालले पुनर्निर्माण तथा पुन:स्थापनाबाट आफूहरुले पनि सिकेको उल्लेख बताए। 

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत् आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सम्मेलन अन्तर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन्। सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका थिए। ‍समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्का, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित थिए। 

त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतहरुको सहभागिता थियो।

प्रकाशित: Dec 09, 2021| 19:15 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्