शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ४७ सहकारीलाई ढुवानीका साधन किन्न हेफरको ५० प्रतिशत सहयोग

४७ सहकारीलाई ढुवानीका साधन किन्न हेफरको ५० प्रतिशत सहयोग

कृषि उपज बजारीकरणका लागि सहयोग पुर्‍याउनका लागि ढुवानीका साधन किन्नका लागि आधा रकम हेफरले व्यहोरिदिएको हेफर इन्टरनेसनलकी मानव संसाधन प्रमुख एलिया माकरले बताइन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेसनलले ४७ वटा सहकारीलाई ढुवानीका साधन किन्नका लागि ५० प्रतिशत रकम सहयोग गरेको छ। कृषि उपज बजारीकरणका लागि सहयोग पुर्‍याउनका लागि ढुवानीका साधन किन्नका लागि आधा रकम हेफरले व्यहोरिदिएको  हेफर इन्टरनेसनलकी मानव संसाधन प्रमुख एलिया माकरले बताइन्।

यसअघि पनि हेफरले २७ वटा सहकारीलाई ढुवानीका साधन किन्नका लागि सहयोग रकम उपलब्ध गराएको थियो। हालसम्म प्रदान गरिएका ७५ ढुवानीका साधनको मूल्य हेफरले जानकारी दिएको छ। २२ लाख देखि २४ लाखसम्म पर्ने त्यस्ता ढुवानीका साधनको ५० प्रतिशत रकम मात्र सहकारी आफैले व्यहोर्ने गरी हेफरले सहयोग गरेको हो। 

पछिल्लो चरणमा ढुवानीका साधनमा हेफर अनुदान पाउने सहकारीहरूहरूमा प्रदेश १ बाट ४ वटा छन्। झापाको एक र  मोरङका ३ वटा सहकारीले ढुवानीका साधनका लागि सहयोग प्राप्त गरेका छन्। प्रदेश २ बाट सर्लाहीको  र महोत्तरीका एकएक, बागमतीको चितवनका ३, धादिङका ३, सिन्धुलीको १ र नुवाकोटका २ वटा सहकारी छन्। 


 यसैगरी गण्डकीअन्तर्गत बाग्लुगका २, नवलपरासीका २, कास्कीका २, लमजुङ , तनहुँ र पर्वतका एकएक सहकारी छन्। प्रदेश ५ बाट २० वटा (दाङ – १, पाल्पा – ७, प्युठान-१, बर्दिया- ३ , बाँके- ५, गुल्मी – २, कपिलवस्तु – १), प्रदेश ६ बाट ३ वटा (सल्यान – १, सुर्खेत- २ ) छन्। यी ४७ सहकारीमा आबद्ध ४५ हजार किसानहरू लाभान्वित हुने हेफरको भनाइ छ। यसबाट करिब ८२ करोड बराबरको कृषि उपजको बजारीकरण गर्ने लक्ष्य राखिएको छ।

हेफरले हालसम्म सय भन्दा बढी स्थानीय नेपाली गैर सरकारी संस्थाहरूसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरी नेपालका ४३ जिल्लाका ३ लाख भन्दा बढी गरिब तथा विपन्न परिवारहरूलाई सहयोग पुर्‍याएको बताएको छ। 

ढुवानीको साधन बितरण समारोहमा उपस्थित प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनले हेफरको सहयोगले महिला सहकारीलाई लाभान्वित गराउने र समृद्धिको पथप्रदर्शक बनाउने उल्लेख गरे। लुम्बीनीका अर्थ व्यवस्था र सहकारी मन्त्रालय कृष्णध्वज खड्काले नेपालमा धेरै अन्तरास्ट्रिय गैर सरकारी संस्थाले काम गरेको भए पनि हेफर नेपालको अनुभव समुदाय केन्द्रित भएको बताए। 

हेफरका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्र नाथ लोहनीले आवस्यकता, क्षमता र स्रोत साधन उपलब्ध गराउन बढी महत्वपूर्ण हुने बताए। ४७ सहकारीको प्रतिनिधित्व गर्दै सुर्खेतकी टिका अधिकारीले कृषिमा आधारित सहकारीलाई हेफरको सहयोगले ऊर्जा दिएको बताइन्। 

प्रकाशित: Dec 09, 2021| 14:32 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्