काठमाडौं– सरकारले २४ कमरोड ४१ लाख रुपैयाँ बिगो दाबी गर्दै ५ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। राजश्व अनुसन्धान विभागले बाराको करैया गाउँपालिका-७ स्थित यादव बिजनेस ट्रेडलिंकका सञ्चालक जयकिशोर साहसहित पाँच व्यवसायीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार साहसहित ट्रेडलिंकका सञ्चालक सोनालालप्रसाद यादव, सानुकुमार श्रेष्ठ, मुकेशकुमार झा र परमेश्वर साहविरुद्ध मुद्दा दायर गरिएको हो। ती पाँच जनै व्यवसायीबाट २४ करोड ४१ लाख २२ हजार ४ सय ६६ रुपैयाँ बिगो दाबी गरिएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।
विभागका अनुसार उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटो तथा नक्कली बिलबिजक बनाएर मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर बापतको राजश्व छली गर्दै आएका थिए।
विभागले उनीहरूले भ्याटतर्फ ४ करोड ४१ लाख १९ हजार २६ रुपैयाँ तथा आयकरतर्फ ७ करोड ८९ लाख ४२ हजार २ सय ७ रुपैयाँ गरी कुल १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ कर छली गरेका छन्।
विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार कर छलीको शतप्रतिशत जरिवानासहित बिगो दाबी गर्दै सजाय तोकेको उल्लेख गरेको छ।