काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दाबी गरेका हुन्।
आफूले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको बताएका उनले अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने उल्लेख गरे।
‘यो ध्वजाबहाक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो। यसलाई कुनैपनि हालतमा माथि उठाउनै पर्छ। यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ। हामी चाहान्छौँ कम भन्दा कम खर्चमा नेपाल ध्वजाबाहक जहाज नाफा होस्। फाइदा होस्। अहिलेपनि हामीलाई ५० अर्ब भन्दा बढी ऋण छ। हामी एकदमै चिन्तित छौँ। ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु परेको छ। किस्ता हाम्रो बाँकी छ। ब्याज हामीले तिर्न सकेका छैनौँ। विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु,' उनले भने, 'राम्रो काम गर्दा कतिपय मान्छेहरुले आफ्नो व्यक्तिगत इन्ट्रेस्ट पूरा नहुँदा उनीहरुले विभिन्न मिडियामा लेखाउने कामहरु गरिराखेका छन्। त्यसमा मैले भन्नुपर्ने केही छैन। त्यो त तपाईहरुले आफैँले पनि बुझ्न सक्नुहुन्छ।’
मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको उल्लेख गरे। खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताएका थिए। ‘यहाँको स्थानीय लेभलमा यहाँका व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो। सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्ने भयो। त्यो पनि एउटा उपलब्धि हो,' उनले भने, 'अर्को कुरा जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौं त्यो भन्दा दुई गुणा, तिन गुणा बढी हामीले पाउने भयो। जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउँछौँ यसले नाफा दिन्छ। एकदमै सह्रानीय कुरा हो यो।’
मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।