आइतबार, मंसिर २८, २०८२

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।
 |  सोमबार, मंसिर २०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।

National life

मंसिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय विदेशी नागरिकमा नयाँ भेटिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कन्ट्याकट्रेसिङमा ६६ जना रहेको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन्।

दुवै जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षण गर्दा मंसिर १९ गते नयाँ भेटिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। दुवै जना नेपाल आइसोलेसनमा रहेको सहप्रवक्ता अधिकारीले बताए।

'उहाहरूमा कुनै लक्षण देखिएको छैन। र, स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। स्वास्थ्यवस्था पनि सामान्य रहेको छ,' अधिकारीले भने।

Laxmi sunrise bank
kumari

यससँगै नेपालमा ओमीक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ्‍ कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ओमीक्रोन नेपालसहित ४१ देशमा देखिएको पुष्टि भएको छ। कोरोनाको अन्य भेरियन्टभन्दा यो भेरियन्ट आक्रामक रहेको विज्ञहरूले बताएका छन्। 

विश्व स्वास्थ्य संगठन यस भेरियन्टको वास्तविकता पत्ता लगाउनका लागि अनुसन्धानमा लागेको छ। यो भेरियन्ट पहिलेभन्दा बढी घातक वा कम घातक छ भन्ने बारेमा अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्टबारे सचेत रहन भने आग्रह गरेको छ। नेपालले ओमिक्रोन जोखिम न्यूनीकरणका लागि विभिन्न योजना बनाएर काम अगाडि बढाएको जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनीका अनुसार सिमानाकामा विशेष सतर्कता अपनाइएको छ। नेपालले अन्तर्राष्ट्रिय नाकाहरूमा पीसीआर रिपोट अनिवार्य गर्ने, लक्षण तथा चिन्हको जाँच गर्ने र सिमानाकाबाट भित्रिने सबैको एन्टिजेन परीक्षण गर्ने, एन्टिजेन परीक्षणमा पोजेटिभ आएमा थप नमुना संकलन गरी पीसीआर परीक्षण गर्नेलगायतका काम अगाडि बढाइसके लोहनीले बताए।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशहरूबाट नेपाल प्रवेश अनुमति नदिने  व्यवस्था गरेको उनले जानकारी दिए। उपचारका सम्बन्धमा संक्रमितहरूको सबै सरकारी अस्पतालमा निःशुल्क उपचार गरी शोधभर्नाको व्यवस्था गर्ने,  ५० सैय्याका अस्पतालहरूमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको व्यवस्था गरिएको तथा अक्सिजन प्लान्ट स्थापना गर्ने काम भइरहेको उनले बताए।

हाल देशभरका ५९ सरकारी प्रयोगशालाहरूबाट कोभिड–१९ को परीक्षण निःशुल्क हुँदै आएको छ। त्यसैगरी ४३ निजी प्रयोगशालाबाट दैनिक रूपमा परीक्षण हुँदै आएको छ।

प्रकाशित: Dec 06, 2021| 13:16 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्