काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताएका हुन्।
काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढन आफू तयार रहेको पनि बताए। निवर्तमान अध्यक्ष राणाले राजसंस्था र हिन्दु राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तीका लागि सशक्त ढंगले अघि बढन पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए।
उनले भने, ‘मैले चार दिन अघि भनेको थिए–सकभर सर्वसम्मति गरौं। हुन सकेन भने परिणाम स्वीकार गरौं भनेको थिए। म त्यो परिणाम स्वीकार गर्छु। सम्पूर्ण अरु साथीहरुलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु। एउटै कुरा छ, साथीहरु–बाटो सजिलो छैन। बाटो अन्त्यन्त कठिन छ, तपाईहरुको सामुन्ने। त्यो बाटो बनाउँदा इमान्दारिता र दक्षताको बाटो लिनु पर्छ। पार्टीले लिएको लक्ष्य राजसंस्था र हिन्दु राज्य स्थापनाका लागि नयाँ नेतृत्वले सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।’
निवर्तमान अध्यक्ष राणाले राप्रपालाई नयाँ नेतृत्वले मुलुकको वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने विश्वास समेत व्यक्त गरे।