काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन्।
आइतबार पार्टी अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै लिङ्देनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी बताए। उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरू नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला-खादा लगाइदिन र मुर्दावाद तथा जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताएका छन्।
लिङ्देनले भने, ‘थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ भन्ने मौका दिने छैन। मैले हिजो प्रतिनिधि सभाको चुनाव लड्दै गर्दा पनि गाउँका जनतालाई यही भनेको थिए। उहाँहरूको शिर झुक्न दिएको छैन। आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीलाई, नेता, कार्यकर्ता साथीहरूलाई पनि यही भन्न चाहन्छु।'
पार्टीलाई विगतको जस्तो गतिहीन र निष्क्रिय बनाउने छुट आफूलाई नरहेको उनले बताए। उनले पार्टीलाई मात्र नभई पार्टीका मुद्दालाई जोड दिने बताएका छन्। उनले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरू नहुने समेत दाबी गरे। लिङ्देनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभई राप्रपाको कार्यकर्ता भएर भोट माग्न जानपाउने बताए।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निष्क्रिय बनाएर लैजाने छुट हामीलाई छैन। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्योभन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तनलाई लिएका हौं,' उनले भने। अनेक समस्याका बाबजुद आफूहरू नेतृत्व लिन सफल भएको उनले बताए।
'हामीलाई जित्नै पर्ने बाध्यता थियो। हामीले हिजो गरेका प्रतिस्पर्धाबाट मानिसहरूले पार्टी चिरा पर्ने हो कि, गुट बन्ने हो कि भन्ने आशंका थिए। हिजोसम्म जे भयो, भयो, आजबाट हामी सबै एक छौं,' उनले भने, 'अब पार्टीमा कोही पक्ष विपक्ष हुँदैन।'
अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिस्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए। उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरूलाई अब राप्रपाले नेतृत्व गर्ने बताए।
उनले माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने र नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाए। अब राप्रपाले पुरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने उनको दाबी छ।
आइतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन पार्टी अध्यक्ष बनेका हुन्। थापाले १ हजार ६ सय १७ गरे भने लिङ्देनले १ हजार ८ सय ४४ मत प्राप्त गर्दै विजयी भएका छन्।