शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटनमन्त्री आले

स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटनमन्त्री आले

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

ओखलढुंगा- नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन्। नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। 

मेलामहोत्सव स्थल माटेबेंसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै मन्त्री आलेले पर्यटन क्षेत्रको दीर्घकालीन  विकासका लागि स्वरोजगारलाई ध्यान दिएर मात्र योजना सञ्चालन हुनु पर्नेमा जोड दिए। उनले भने, 'रोजगारी सिर्जना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन सक्दैन।'

उनले आफूले थुप्रै सुधारका काम थालेको पनि बताए। उनले कौडीको भाउमा बेचिन लागेको नेपाल एयरलाइन्स जोगाएको पनि दाबी गरे। 

विमानस्थलमा यात्रुमाथि भइरहेको ठगी रोक्न नि:शुल्क ट्याक्सीको व्यवस्था गरेर सुधारका काम थालिएको उनले बताए। विदेश जानेहरूका लागि पिसिआर परीक्षण २ हजारबाट १ हजार २ सय तोकिएको उनको भनाइ छ। 

उनले रेमिट्यान्सको सम्मान र सदुपयोग नभएकोमा दुःख व्यक्त गरे। ओखलढुंगाको लिखु स्थित वडा नम्बर ६ माटेमा रहेको प्रथम माटेबेंसी शिद्धेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेट दिने पनि घोषणा गरे। 

यसका साथै फरक प्रसंगमा बोल्दै मन्त्री आलेले आगामी निर्वाचन जितेर देखाउने दाबी गरे। उनले भने, 'समाजवादीले चुनाव जितेर देखाउँछ। मै जितेर देखाउँछु।' वर्तमान सत्ता गठबन्धन चुनाव पछिसम्म रहने उनको दाबी छ। 

प्रकाशित: Dec 04, 2021| 21:05 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्