बुटवल- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले नेपालको बर्तमान राजनीतिमा दुई धुव्र देखा परेको बताएका छन। प्राप्त उपलब्धिको रक्षा गर्नका लागि संविधान जोगाउनुपर्छ भन्ने र अर्को उपलब्धि उल्टयाएर राजतन्त्र ल्याउने धुव्रमा राजनीति विभाजित भएको उनले बताए।
नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेता महराले अहिलेको वर्तमान गठबन्धन संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि भएको बताए।
‘हामी संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा छौं, तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन्’ महराले भने। उनले उपलब्धि रक्षा गर्ने शक्तिका रूपमा रहेको पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति समेत लागि परेको उनले बताए। उनले नेकपा एमालेका अध्यक्ष केपि ओलीतर्फ संकेत गर्दै संविधान निमोठ्ने र उपलब्धी उल्ट्याउने शक्तिको नेतृत्व गरेको टिप्पणी गरे।
देशलाई नयाँ उर्जा र सन्देश दिने समय आएको महराले बताए। ‘माओवादी बिभाजित भएर होईन एक भएर लाग्नुपर्छ’ उनले भने, ‘हिजो संगै रहेका बाबुराम भट्टराई, बिप्लव लगायतका नेताहरूसंग सहकार्य गरि एक भएर अगाडी बढ्ने गरि छलफल भइरहेको छ।’ उनले माओवादीले फेरी पूरानो शक्ति र उर्जा लिएर पार्टी संगठन निर्माणमा जुटेको बताउँदै ८ लाख पार्टी सदस्य पुगेको दावी गरे।
माओवादी केन्द्रको २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन छ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।