काठमाडौं– यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ। अघिल्लो साताको अन्तिम दिन बिहीबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा थियो। गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो।
यो सातामा सेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ। ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ।
पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबारबाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ। सेयर लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४÷१२ करोड सेयर धितोकर्जाको सिमा परिर्वतन हुने आसमा थिए। तर, मौद्रिक नीतिको समीक्षाले ४/१२ करोडको सीमा परिर्वतन गरेन। यसको प्रभाव आइतबार देखि सेयर बजारमा पर्यो।
मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको थियो। उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर कारोबार भएको थियो। त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो। सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ अंकमा पुगेको थियो। यस दिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो। सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ। बिहीबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको सेयर किनबेच भएको छ।