काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सिलिन्डर ग्यासमा १ हजार रुपैयाँ घाटा रहेको दाबी गरेका छन्। बिहीबार राज्यका निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडलेले ग्यासबाट मात्र निगमलाई दैनिक साढे ७ करोड घाटा हुने गरेको बताएका हुन्।
उनका अनुसार प्रतिसिलिन्डर ग्यासमा निगमलाई ७५० रुपैयाँ र सरकारलाई २५० रुपैयाँ घाटा हुने गरेको छ। नेपालमा प्रतिदिन एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ।
अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयभन्दा पनि अब आयल निगम नै रहने/नरहने विषय पहिलो प्राथमिकताको भएको उनको भनाइ छ।
'निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको छ। सबै भन्दा बढी एलपी ग्यासमा घाटा छ। एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिन्डर खपत हुने गरेको छ,' उनले भने, 'एउटा सिलिन्डरमा निगमले ७५० रुपैयाँ र सरकारको २५० रुपैयाँ घाटा खाइरहेको छ। यो विषयमा सरकारले सोच्नु पर्छ। पछिल्लो समय अझ बढी इन्धनको मूल्य वृद्धिको विषयमा राजनीति भएको छ। पछिल्लो समय सत्तारुढ दलका विद्यार्थी संगठनले समेत आगो लगाउने कुरा गरेका छन्। यस्तो अवस्थामा निगमले काम गर्न असहज भएको छ।’
छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्याँस खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए। ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको उनको भनाइ छ।
‘सरकारले नेपालमा उत्पादन भएको विद्युत खपत नहुँदा खेरा गइरहेको छ। उत्पादन भएको विद्युतको खपत बढाएर ग्यासको खपत कम गर्नको लागि सरकारले छलफललाई निरन्तरता दिन्छ। सरकार विद्युत खपत बढाएर एलपी ग्यासको खपत कम गर्न गर्ने र इन्धनलाई सबैलाई मान्य हुने गरी सर्वसुलभ बनाउन तयार रहेको छ,’ सचिव पोखरेलले भने। इन्धनमा विश्वका धेरै देशमा कर महँगो नै भएको उनले उल्लेख गरेका थिए।