काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेको छ। आज नेप्से १.८६ प्रतिशतले घटेर २५८४.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
आज २३१ कम्पनीको ४७ हजार ८४६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता सेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ। बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ।
कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
दुई कम्पनीको भने सेयर मूल्यमा उच्च वृद्धि भएको छ। सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्किट लभेलमा बढेर प्रतिकित्ता ५०७ रुपैयाँ पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ पुगेको छ। आज सबैभन्दा धेरै नोक्सान बेहोर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ।