काठमाडौं– बीवाईडी अटो कम्पनी लिमिटेडको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले पहिलो विद्युतीय एम्बुलेनस बीवाईडी टी३ किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटललाई हस्तान्तरण गरेको छ।
गत मंगलबार आयोजित एक कार्यक्रमका बीच ललितपुरको ग्वार्कोमा रहेको अस्पताललाई विद्युतीय एम्बुलेन्स हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। योसँगै किस्ट मेडिकले कलेज नेपालमा विद्युतीय एम्बुलेन्स प्रयोग गर्ने पहिलो अस्पताल बनेको छ।
यसले कार्बन उत्सर्जन घटाउनेदेखि बिरामीलाई उच्च मापदण्डको सुरक्षा र आनन्द मिल्ने कम्पनीले जनाएको छ। यसलाई कम्पनीले समाज र वातावरणीय अनुकूलनको प्रतिबद्धता पूर्तिमा कोशेढुंगा भनेको छ। किस्ट मेडिकल कलेजका प्रमुख सञ्चालन तथा व्यवस्थापन अधिकृत अमिष पाठकले अस्पालले एम्बुलेन्सको सेवा विस्तार गर्न सघाउ पुग्ने बताए।
कम्पनीले पहिलोपटक पूर्ण विद्युतीय एम्बुलेन्स नेपाल ल्याएको हो। बीवाईडीको प्रस्तुति र विश्वसनीयतालाई किस्ट अस्पतालले मनन गरेकामा कम्पनीले आभार व्यक्त गरेको साइमेक्स इन्ककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले बताइन्।
साइमेक्सले किस्ट हस्पिटललाई विद्युतीय यातायात प्रयोगमा सहयोग गरेको छ। त्यसका लागि बीवाईडी टी३ सहुलियत दरमा उपलब्ध गराउने भएको छ।
स्वास्थ्य क्षेत्रका लागि कम्पनीको यो पहिलो सवारीसाधन हो। टी३ भ्यानमा ५०।३ केडब्लुएच ब्याट्री पावर रहेको छ। एकपटकको चार्जले पूरै दिनभर एम्बुलेन्स चल्न सक्छ। यसको एकपटकको चार्जले ३१० किमि गुड्न सक्षम रहेको कम्पनीले जनाएको छ। यसमा ३८ सय लिटर कार्गो स्पेस र पछाडिको भागमा ८ सय किलोग्रामसम्म बोक्नसक्ने क्षमता छ।
खासगरी कोभिड महामारीमा सघाउ पुग्ने गरी कम्पनीले यसमा अक्सिजन ट्यांक, भेन्टिलेटर, ईसीजी मोनिटर र खुम्चाउनसकिने स्ट्रेचर जडान गरेको छ।