काठमाडौं– सरकारले दसैं, तिहार, छठ लगायत पर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल आगामी माघे संक्रान्तिसम्म सञ्चालनमा रहने भएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालीहरुको अर्को महत्वपूर्ण चाड माघीसमेत रहेकाले आगामी २ माघसम्म सुपथ मूल्य पसल सञ्चालनमा रहने जानकारी गराएको हो।
सरकारले चाडपर्वलाई लक्षित गर्दै यसअघि देखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै आएको छ। यसअघि छठपर्व सकिएसँगै बन्द हुने गरेका सुपथ मूल्य पसलहरु आगामी २ माघसम्म सञ्चालनमा रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ। सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुका सामग्रीमा १० प्रतिशतसम्म छुट दिने गरेको छ।
यसवर्ष दसैं, तिहार र छठ लक्षित सुपथ मूल्य पसल १ असोजदेखि कात्तिक २४ गतेसम्म सञ्चालनमा राख्ने सरकारको योजना थियो। तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २३ कात्तिकमा सुपथ मूल्य पसल माघ २ सम्म सञ्चालनमा राख्ने निर्णय गर्दै कम्पनीलाई निर्देशन दिएको छ।
कम्पनीले चामल, दाल, घिउ, तेल चिनी लगायतका दैनिक उपभोग्य वस्तुमा बजार मूल्य भन्दा १० प्रतिशत छुट दिने बताउँदै आएको छ। यद्यपि उपभोक्ताले भने सरकारले घोषणा गरेअनुसारको छुट नपाउने गुनासो गर्दै आएका छन्।