काठमाडौं– एनएमबि बैंकले एसियाकै उत्कृष्ट बैंकको उपाधि पाएको छ। बैंकले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ पुरस्कार प्राप्त गरेको हो। यो उपाधि पाउने एनएमबि नेपालको पहिलो बैंक हो।
बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डको लागि एनएमबिलाई छनोट गरेको हो। चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापान जस्ता एसियाकै ठूला प्रतिस्पर्धी बैंकहरुलाई पछि पार्दै एनएमबि एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो।
बुधबार बैंकका अध्यक्षले सञ्चालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ग्रहण गरेका थिए। उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए।
साथै एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ। एनएमबिले पछिल्ला ५ वर्षमा जितेको यो चौथो अवार्ड हो। सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्यांकन गर्ने र विश्वकै अग्रणि संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ।
बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकूल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ। दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको बैंकले जनाएको छ।
यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मुलुकका लागि गौरवको विषय भएको बैंकका सीईहो सुनिल केसीले बताए। 'एसियाका ४८ मुलुकलाई पछाडि पार्दै एनएमबि बैंक सर्वोत्कृष्ट बन्नु सबैको जित हो। आफूभन्दा अघि आएका बैंकहरु भन्दा एनएमबिले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट बन्न सफल भएको हो,' उनले भने।
बैंकले ४५ भन्दा बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ। सिमेन्टमा पनि लगानी गरी मुलुकलाई सिमेन्टमा आत्मनिर्भर बैंकले बनाउन सहयोग गरेको छ। बैंकका अध्यक्ष पवन गोल्यानले देशमा नयाँ उद्यमीहरु जन्माउनेदेखि विदेशबाट ठूलो रकम नेपाल भित्र्याउनका लागि एनएमबि बैंकले ठूलो पहल गरेको बताए।