काठमाडौं- तारा एयरको ९ एन–एभीई कलसाइन भएको विमान केही मानिसहरुले धकेलिरहेको भिडियो बुधबार सामाजिक सञ्जालहरुका भाइरल भएको छ। विमानस्थलमा रहेको उक्त विमानलाई केही मानिसहरुले धकेलिरहेको दृश्य उक्त भिडियोमा देखिन्छ।
उक्त भिडियो बाजुरा विमानस्थलको भएको विमानस्लथका सुरक्षा अधिकारी प्रहरी निरीक्षक बलेन्द्र नाथले पुष्टि गरेका छन्। उनले भने, 'बुधबार दिउँसो १२:३० बजे विमान धावनमार्गबाट ट्याक्सी वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको हो।'
उक्त विमानका कारण ट्याक्सी-वे अवरुद्ध भएपछि बाटो खुलाउनका लागि यात्रुहरु र सुरक्षाकर्मीले धकेलेर सारिएको प्रहरी निरीक्षक नाथले जानकारी दिए।
नेपालगञ्जबाट आएर ल्याण्ड भएको उक्त विमानमा चढ्न मानिसहरु प्रतिक्षारत रहेको समयमा टायर पड्किएका कारण कुनै मानवीय क्षति नभएको पनि नाथले जानकरी दिए।
उनले थपे, 'पछि नेपालगञ्जबाट अर्को विमानमा इन्जिनियरहरु आएर टायर फेरेपछि यात्रुहरु लगेर उक्त विमान फेरि नेपालगञ्जतर्फ नै उडेको छ।
भिडियो हेर्नुहोस्। (स्रोत: सामाजिक सञ्जाल)