शुक्रबार, असोज १६, २०८३

पत्रकार सहकारी बनाउन अर्थमन्त्रीको आग्रह

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माको भनाइ छ ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पूँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनमा सञ्चारकर्मी पनि जोडिनुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल ललितपुर शाखाको चौथो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले पत्रकारले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका हुन्।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माको भनाइ छ ।

'पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारको सहकारी समूह बनाएर तपाईंहरू सञ्चालन गर्न सक्नुहुन्छ,'उनले भने, 'एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ।' त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उनले बताए। 

मन्त्री शर्माले तत्काल राष्ट्रिय पूँजी निर्माण हुने सम्भावना कम रहेकाले पहिले सामुदायिक पूँजी निर्माण गर्नुपर्नेमा जोड दिए। उनले व्यक्तिगत प्रतिस्पर्धालाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने उल्लेख गरेका छन्।

पत्रकारलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उनले बताए। आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माको भनाइ छ। 'प्रेस सेन्टर पार्टीसँग सम्बन्धित सङ्गठन होला, तर पार्टीको मान्छेले गल्ती गर्दा उसको आलोचना गर्ने छुट तपाईंहरूसँग छ,' उनले भने, 'त्यस कारण तपाईंहरूसँग आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ।' सम्मेलनले रामहरि कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। 

प्रकाशित: Nov 30, 2021| 19:18 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्