काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन्।
प्रेस सेन्टर नेपाल काठमाडौंको सोमबार भएको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाइ मूल्यांकन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताएका छन्।
उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्नसक्ने बताए। मन्त्री शर्माले भने,‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ। त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्। कार्यविधि र मूल्यांकनको काम अगाडि बढाउन प्रेस सेन्टरले वातावरण बनाउनु पर्छ। यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ। अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरुको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ।’
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने रहेको बताएका छन्। उनले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्ति प्रक्रियादेखि आजसम्मको स्थितिमा आएको बताए।
मन्त्री शर्माले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउँदै अब नेपालमा समाजवादी बाटोको आवश्यकता भएको औँल्याए।