काठमाडौं– पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा आएकाले सकारात्मक रहेको उनको भनाइ छ। डा. महतले भने, ‘कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ। उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ। महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्यो।’
उनले अब मौद्रिक नीति मार्फत उद्योग व्यवसाय चलायमान बनाउन राहतका कार्यक्रम तथा सुविधा व्यवस्था गर्न आवश्यक रहेको बताए।
डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउन केही वर्षदेखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए। उनले भने, ‘यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केही सकारात्मक पक्ष छन्। मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वाभाविक मान्नुपर्छ।’