शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्थानीय सहभागिता विना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

स्थानीय सहभागिता विना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

रुकुम- अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।

शनिबार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन्। ‘आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन,’ मन्त्री शर्माले भने, ‘विकासको लागि स्थानीय सक्रिय हुनुपर्छ। सरकारले त्यसमा सहयोग गर्ने मात्र हो।’ 

कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री शर्माले उद्योग वाणिज्य संघ चौरजहारीका प्रतिनिधिहरूसँग भने, ‘कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ। अनि कसरी गर्ने विकास?’

चौरजहारीमा विमानस्थलको स्तरोन्नति र भेरी नदीमा जलविद्युत बनाउने योजना सुनाउनुहुँदै उनले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न सम्भव नहुने बताए। मन्त्री शर्माले शनिबार चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरेका थिए। उनले सानीभेरी गाउँपालिकामा सम्पन्न अस्पताल भवनको शिलान्यास गरेका हुन्। यस्तै शनिबार नै आठविसकोटमा स्थापना गरिएको १५ सैय्याको नगर अस्पताल भवन उद्घाटन गरेका हुन्।

नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभाहरूलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले रुकुम जिल्लालाई समाजवादको आधार बनाउने प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रकाशित: Nov 28, 2021| 06:49 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्