काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन्। उनले आफू मन्त्रायलमा केही लिनको लागि नभई श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताए।
उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरुलाई मोर्डन इन्डियन्य मोर्डन स्कुलका पूर्व विद्यार्थी समाजले ट्रयाकसूट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए।
‘श्रम क्षेत्रमा श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु। ताहाचल श्रम कार्यालयमा कत्रो भीड थियो, तपाईं भोलि हेर्न जानुहोस् अहिले त्यो भिड कम भएको छ। त्यस्तै कोरिया जाने भाइहरु ठगिएको अवस्थामा होटलमै गएर मैले जोगाएँ,' उनले भने, 'यो धेरै गर्न सक्ने कामहरु तपाईहरुको आशिर्वादले भएको हो। म एक्लैले गर्न सक्ने केही पनि होइन। सबैको सहयोग भयो भने हामी पक्कै पनि गर्नेछौँ। गर्न सक्छौँ।'
२१ वटा मजदुर संस्थाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'देख्दा यो कार्यक्रम सानो छ। तर तपाईहरु जस्तो संस्थाले मजदुरको मेहेनतले हामी केही राहत भने पनि महसुस गरिरहेका छौँ। तपाईहरु १५ दिन काम नगर्नुस् त यहाँ कस्तो फोहोर हुन्छ,' उनले भने, 'मजदुरहरुको विषयमा पनि समस्या लिएर आउनुस्। राम्रा कुरा पनि नराम्रा कुरा पनि लिएर आउनुस्। दुःखका सुखका कुरा पनि लिएर आउनुस्, के गर्न सकिन्छ हातेमालो गरेर अघि बढ्नको लागि म सधैँ तयार छु।’
मोर्डन इन्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिब ७ सयभन्दा बढी श्रमिकहरुलाई ट्रयाकसुट वितरण गरेको हो।