बिहीबार, भदौ ४, २०८३

रोयल इन्फिल्डमा जमेका विपिन

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ।
 |  बुधबार, मंसिर ८, २०७८

दिग्विजय महर्जन

दिग्विजय महर्जन

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– लण्डनको कलेजबाट व्यवस्थापन शास्त्रमा स्नातक तहको पढाइ सकेर उड्डयन क्षेत्रमा काम थालेका विपिन निरौला कामको सिलसिलामा देशविदेश रहे। तर पारिवारसँगै रहने निर्णय गरेर उनी नेपालमै केही गरुँला भनेर फर्किए।

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ। बुवाले काठमाडौंमा मोटरसाइकल मर्मतमा राम्रो नाम कमाएका थिए। व्यवस्थापन पढेका उनलाई लाग्यो– बुवाले जिन्दगीभर काम गरेर बनाएको यो नाम नै एउटा राम्रो ब्राण्ड हो। अनि उनी बुवासँगै मोटरसाइकल मर्मत कारखानामा काम गर्न जान थाले। उनले बुवासँग काम गर्न थालेको छ वर्ष भएको छ।

‘एक त मोटरसाइकलप्रति लगाव थियो। अनि परिवारसँगै पनि हुन पाइने भएकाले यो कामलाई नै निरन्तरता दिनु उचित लाग्यो। परिवारसँगै व्यवसाय पनि गर्न पाइने,’ उनले सुनाए। उनको मर्मत केन्द्रले पछिल्लो दिनमा रोयल इनफिल्डका बाइकलाई केन्द्रित गरेर सेवा दिन थालेको छ। एक हिसाबले भन्दा रोयल इनफिल्ड मर्मत केन्द्र बनेको छ, उनको कारखाना। उनको सेवा प्रवाह गर्ने व्यवसायमा १८ जनाले रोजगारी पाएका छन्। शान्तिनगरमा भएको कारखानालाई हालै विस्तार गरेर ललितपुर, इमाडोलमा रहेको भद्रकाली पेट्रोल पम्पमा पनि शाखा विस्तार गरेको छ।

बाइकको क्षेत्रमा काम गर्ने पक्का भएपछि उनले इन्टरनेटमा उपलब्ध मोटरसाइकलसँग सम्बन्धित डकुमेन्ट्री र भिडियोहरु हेरे। मोटरसाइकलका म्यागेजिनहरु पढे। त्यही क्रममा उनले ‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टिनेन्स’ किताब पनि भेटाए। बुद्ध दर्शनको एउटा हाँगा जेनले भन्छ, सचेत हुनु। सचेत हुनको लागि ध्यान गर्नुपर्ने रहेछ। ध्यान भनेको गेरु वस्त्र लगाएर संन्यासको बाटो लाग्ने मात्र होइन रहेछ। आफ्नो काममा एकाग्र हुनु नै ध्यान रहेछ।

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ।

संगीतका विज्ञहरुले धुन सुनेर गीतको कर्ड पत्ता लगाएजस्तै विपिन पनि मोटरसाइकलको आवाज सुनेर समस्या पहिचान गर्छन्। यो सीप उनले काममा ध्यानी भएबापत कमाएका हुन्। ‘यसो एकछिन चलाउनासाथ मुख्य मुख्य समस्या पत्ता लाग्छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा त ग्राहकले नै समस्या बताउनुहुन्छ अनि हाम्रो काम त्यो समस्याको जरा पत्ता लगाएर उपचार गर्ने हुन्छ।’

विपिनका बुवा गणेशप्रसाद निरौला पुराना र अनुभवी प्राविधिक हुन्। उनले आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने मानसकितासहित मोटरसाइकल मर्मत गर्ने काम थालेका थिए। काम गर्दै जाँदा उनले सबैखाले मोटरसाइकल मर्मत गर्ने काममा दक्षता हासिल गरे। समय क्रममा नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको संख्या बढ्दै गयो र मर्मतको लागि दक्ष प्रविधिकसहितको कारखानाको अभाव खट्किन थाल्यो।

त्यही बेला उनको सम्पर्क नेपालका लागि रोयल इनफिल्डको आधिकारिक एजेन्टसँग भयो र उनले रोयल इनफिल्डको आधिकारिक मर्मत केन्द्र खोल्ने अनुमति पाए। झण्डै दश वर्षदेखि उनको संस्थाले शन्तिनगरको प्रयागमार्गमा रहेको कारखानामार्फत रोयल इनफिल्ड बाइकको नसा–नसा केलाउने काम गर्दै आएको छ। निरौला एन्ड कम्पनीले रोयल इनफिल्ड जाँच्न थालेको ३० वर्ष भइसकेको छ। रोयल इनफिल्ड मोटरसाइकल नवयुवाको शौखिन बाइक बनेको छ भने वयष्यकहरु पनि यसलाई रुचाउँछन्।

उनको अनुभवअनुसार सबै व्यापारमा जोखिम हुन्छन् नै। यसका जोखिम भनेको भनेको मेकानिकल सामान हुन्। यो मोटरसाइकलको मुख्य समस्या भनेको विद्युतीय प्रणालीको संवेदनशीलता हो। यसका फ्युजहरु संवेदनशील हुन्छन्। यो मोटरसाइकल अरुभन्दा भारी भएका कारण इन्जिन छिटो तात्छ। अर्को समस्या भनेको  यसको टायरलाई ट्युबलेस बनाउन सकिँदैन, जसले गर्दा पञ्चरको समस्या हुने गर्छ।

रोयल इन्फिल्ड चलाउनेले यसको रेखदेखमा चनाखो हुनुपर्ने विपिन बताउँछन्। भन्छन्, ‘समयमै मोबिल फेर्नुपर्छ। फलामको पार्टपुर्जा खिया लाग्नबाट जोगाउनुपर्छ। चेनमा नियमित तेल हाल्नुपर्छ। पुग्दो पेट्रोल हालेर मात्र चलाउनुपर्छ। साथै समय–समयमा मोटरसाइकल आफैंले पनि जाँच गर्ने र सर्भिसिङ नियमित गर्नबाट चुक्न नहुने उनी सबैलाई सुझाव दिन्छन्।

 

प्रकाशित: Nov 24, 2021| 11:45 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्