काठमाडौं- देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार र जनचेतनामूलक गतिविधिलाई तीव्र बनाएको छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना संक्रमित भएका छन्। तीमध्ये ७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
संक्रमणको अवस्था हेर्दै महाशाखाले असारदेखि सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणबारे छलफल गर्दै आएको जनाएको छ। ईडब्लुएआरएस र सोर्मास लगायतका रोग निगरानी प्रणालीमार्फत संक्रमणको अवस्था र प्रवृत्तिको नियमित अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ।
संक्रमण बढी देखिएका क्षेत्रमा परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री र औषधि उपलब्ध गराउने कामसमेत भइरहेको छ।
स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा पठाइएको छ भने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ। आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। रोगको समयमै पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा समेत मन्त्रालयले जोड दिएको छ। असार महिनामा मात्रै करिब १ हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसको निदान तथा उपचारसम्बन्धी तालिम र अभिमुखीकरण दिइएको छ।
यससँगै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिक्षा सामग्री प्रसारण भइरहेको छ। संक्रमण बढी देखिएका क्षेत्रमा निगरानी, परीक्षण, उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मी परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।