शुक्रबार, असोज १६, २०८३

पत्रकार धौलागिरि, दहाल र शर्माका पाँच पुस्तक सार्वजनिक

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- एक विशेष कार्यक्रमका बीच मुद्रण सञ्चार माध्यम र मिडिया अनुसन्धानमा आधारित पाँचवटा पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएका छन्। काठमाडौँको असोज १५ गते आयोजित कार्यक्रममा पत्रकार विनोद धौलागिरी, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित ती पुस्तकहरू औपचारिक रूपमा विमोचन गरिएका हुन्।

Welcome-and-Orientation-(27)-1790917614.jpg
सेफर्ड कलेजमा आयोजित उक्त समारोहमा मुद्रण सञ्चार माध्यमसँग सम्बन्धित चारवटा र मिडिया अनुसन्धान गरी तयार पारिएको एउटा गरी जम्मा पाँच पुस्तक सार्वजनिक गरिएको हो। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मिडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तह अध्ययन अध्यापन हुने एक मात्र क्याम्पसको रूपमा रहेको सेफर्ड कलेजले यसअघि पनि पाठ्यक्रममा आधारित दुईवटा पुस्तकहरू प्रकाशित गरिसकेको जानकारी सहायक क्याम्पस प्रमुख प्रेम पुनथोकीले दिनुभयो।

विद्यार्थीहरूलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक उपलब्ध गराउनका साथै सहभागितामूलक सिकाइ पद्धतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाँकी विषयका पाठ्यपुस्तकहरू पनि तयार पारिने योजना रहेको छ। सोही योजना अन्तर्गत स्नातकोत्तर तह दोस्रो र पहिलो सेमेष्टरका बाँकी पाठ्यपुस्तकहरू समेत तयारीको क्रममा रहेको सहायक क्याम्पस प्रमुख पुनथोकीले बताउनुभयो।

कलेजमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश खतिवडाले यस्ता पाठ्यपुस्तकको विकासले शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै पाठ्यक्रममा आधारित जानकारीका लागि विभिन्न स्रोतहरूमा भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभयो। उहाँले यस प्रयासले शैक्षिक गुणस्तर कायम राख्न ठूलो सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो। सोही अवसरमा क्याम्पसले तयार पारेको सहभागितामूलक सिकाइ मार्गदर्शन समेत सार्वजनिक गरिएको छ, जसभित्र अनलाइन कक्षा सञ्चालन प्रक्रिया, नियमित मूल्याङ्कन, सिकाइ कार्यमा विद्यार्थीको भूमिका तथा निरन्तर मूल्याङ्कन पद्धति जस्ता विषयहरू समावेश गरिएका छन्।

कार्यक्रमकै अवसरमा स्नातकोत्तर तह पहिलो सेमेष्टरका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा विनोदप्रसाद शर्माले सहभागितामूलक सिकाइ पद्धति र स्नातकोत्तर तह अध्ययनका विविध आयामबारे विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनुभएको थियो। त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष एवं स्नातकोत्तर तहका विद्यार्थी गणेश बस्नेतले केवल परीक्षाका लागि मात्र नभई जीवनका लागि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो। कलेजका प्राध्यापक प्रकाशजङ्ग कार्कीले मिडिया टेक्नोलोजीको अध्ययन दायरा निकै व्यापक रहेकाले प्रभावकारी सिकाइका लागि विद्यार्थीहरूको सक्रियता अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

प्रकाशित: Oct 02, 2026| 10:52 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्