काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ मा 'अनरेबनल मेन्सन'बाट सम्मानित भएको छ।
नेपाल अनरेबल मेन्सनबाट सम्मानित भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका हुन्। १४औं संस्करणको अन्तर्राष्ट्रिय एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स ओलम्पियाडमा (आईओएए २०२१) नेपालले सो पदक जितेको हो।
पदक जित्नेमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका युवराज भण्डारी रहेका छन्। विश्वभरिका ४७ देशका २९८ विद्यार्थीको सहभागिता रहेको उत्त ओलम्पियाडमा नेपालका दुई टिम सहभागी बनेका थिए। जसमा मुख्य र पाहुना टिम गरि १० खेलाडी ओलम्पियाडका लागि छानिएका थिए।
कोभिड १९ को महामारीको कारण प्रतियोगिता 'हाइब्रिड मोड'मा आयोजना गरिएको थियो। कोलम्बियाको बोगटाबाट सञ्चालित प्रतियोगितामा त्यहाँबाटै प्रतियोगिताको प्रविधि संयोजन गरिएको थियो।
‘प्रतियोगितामा सहभागि हुनका लागि सबै प्रतियोगी देशका विद्यार्थी भेला भएर एक ठाउँमा रहनुपर्ने नियम थियो,’ नेपाल एस्ट्रोनोमिक सोसाइटीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘त्यसको सबै नियन्त्रण बोगटाबाट गरिएको थियो।’
नेपालबाट सहभागी विद्यार्थीले पदक जित्न भने सकेनन्। तर युवाराज बाहेकका विद्यार्थीले अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागिता जनाएका छन्।
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट नेपालका विद्यार्थी छानिएका थिए। जुन नासोले देशका सातै प्रदेशमा आयोजना गरेको थियो।