काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन्।
पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल अहिले पनि आइकाओको कालोसूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवर्द्धन गर्नका लागि पहल भइरहेको बताएका हुन्।
'बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको कालोसूचीबाट छिट्टै हटाउन भनेको छु। नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु,' उनले भने। सन् २०१३ मा आइकाओले नेपाललाई कालोसूचीमा राख्दै आएको छ।
मन्त्री आलेले भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेकोसमेत जानकारी दिए। 'नेपाल-भारत हवाई यात्रामा भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन। अहिले एयरबबल हटेको छ,' अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ थियो।
कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले उल्लेख गरे। कोभिडको त्रास समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले जानकारी दिए। सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो।
फरक प्रसङ्गमा उनले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गरेका थिए।