काठमाडौं– सरकारले प्रत्येक १०–१० वर्षमा गर्दै आएको जनगणना यस वर्ष चलिरहेको छ। गत कात्तिक २५ गतेदेखि सुरु भएको १२औं जनगणना आगामी बिहीबार (९ मंसिर) मा सम्पन्न हुँदैछ।
गत भदौ ३० देखि पहिलो चरणमा गरिएको गणना अन्तर्गत घर परिवार सूचीकरण कार्य १८ असोजमा सम्पन्न भएको थियो। केन्द्रीय तथ्यांक विभागका अनुसार यस वर्षको जनणनामा घरपरिवारको संख्या ६८ लाख नाघ्ने निश्चित भइसके पनि जिल्लाहरुबाट घरपरिवारको तथ्यांक केन्द्रीय तथ्यांक विभागमा नपुग्दै गत कात्तिक २५ देखि मुख्य प्रश्नावली भरेर जनगणना गर्न करिब ४० हजार गणक घर–घरमा खटाइएको छ। साढे ८ हजार सुपरिवेक्षक फिल्डमा खटाइएको तथ्यांक विभागले जानकारी दिएको छ। विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जनगणना र घरपरिवारको तथ्यांक सँगसँगै आइपुग्ने बताए।
उनका अनुसार यस वर्ष हुन गइरहेको जनगणनाको प्रक्रिया विगतको तुलनामा केही फरक छ। ‘जनगणनाको प्रक्रिया हामीले अलिकति फरक पारेका छौं। पहिले हामीले शिक्षकलाई सुपरिवेक्षक तथा गणकका लागि लिने गरेका थियौं। अहिले हामीले फ्रेस युवा जनशक्तिलाई लिएका छौं। प्रश्नावलीमा इ–सेन्स पनि गरेका छौं,’ उनले भने।
विभागले यस वर्षको जनगणनामा विदेशमा रहेका राजदूतावासका कर्मचारी, कूटनीतिक नियोगका मान्छेहरुलाई अनलाइनमार्फत दर्ता गर्न सकिने व्यवस्था गरेको छ। ‘हामीले राजदूतावासमार्फत एउटा वेब पोर्टल बनाएका छौं,’ चौलागाईंले भने, ‘बाहिरतिर हाम्रा कूटनीतिक नियोग जहाँ जहाँ छन्, ती सबै देशका लाई इ–सेन्ससबाट समेट्छौं।’
पछिल्लो समय अधिकांश गाउँठाउँमा इन्टरनेट पुगेको छ। सहरी क्षेत्रमा भएका एक जना आफन्तले आफ्ना परिवार तथा छरछिमेकमा भएका आफन्तको तथ्यांक अनलाइनमार्फत पनि केन्द्रमा सूचीकृत गर्न सक्ने अवस्था छ। तर, विभागले गणक तथा सुपरिवेक्षक भने घर–घरमै खटाएपछि अनलाइनमार्फत गर्न सकिने जनगणनाका लागि घर–घरमा खटाउँदा सरोकारवालाहरुले सामाजिक सञ्जालमा आलोचना गर्ने गरेका छन्।
विभागले यस वर्षको जनगणनामा विदेशमा रहेका राजदूतावासका कर्मचारी, कूटनीतिक नियोगका मान्छेहरुलाई अनलाइनमार्फत दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
यस विषयमा केन्द्रीय तथ्यांक विभागले यसवर्ष सामान्य अभ्यास गरिए पनि आगामी जनगणना तथा अन्य तथ्यांक संकलन डिजिटल माध्यमबाट गर्न सकिने प्रतिक्रिया दिएको छ। विभागका सूचना अधिकारी चौलागाईं भन्छन्, ‘यसपाली काठमाडौं महानगरपालिका ६ वटा वडामा ट्याबबाट पनि तथ्यांक लिइरहेका छौं। ट्याबबाट गरेपछि कहीँ बिग्रियो भने त्यसको रिप्लेस गर्नलाई धेरै गाह्रो हुने रहेछ। हाम्रो भूभागको हिसावले पनि त्यो रिप्लेस गर्नलाई गाह्रो छ। त्यसकारण हामीले सबैमा अनलाइन अर्थात डिजिटल्ली डाटा लिन नसकेको हो। आगामी जनगणना तथा अन्य तथ्यांक संकलनका लागि यो एउटा अभ्यासचाहिँ भइरहेको छ।’
आगामी दिनमा हुन गइरहेको कृषि गणनाका लागि डिजिटल फर्मको प्रयोग बढी गरिने उनको भनाइ थियो। विभागले अहिले खटिएका गणकहरुबाट आगामी ९ मंसिरसम्म जनगणना गरिने उल्लेख गरेको छ। खास जनगणना ८ मंसिरसम्म भए पनि अन्तिम दिन छुटेकाहरुको गणना गरिने चौलागाईं बताउँछन्। ‘जनगणना ८ गतेसम्म हो खास त। ९ गते छुटपुट भएकाहरुलाई लिने हो,’ उनले भने। उनका अनुसार ९ मंसिरमा सडकमा सुत्नेहरु, घर नभएकाहरु, जोगी तथा फकिरहरुको गणना गरिने छ।
विभागले सारांशको रुपमा २ देखि ३ महिनामा प्रारम्भिक नतिजा निकाल्ने कार्ययोजना राखेको छ। प्रारम्भिक नतिजामा पुरुष तथा महिलाको संख्या समावेश हुने छ। आगामी असारदेखि अन्तिम नतिजाहरु प्रकाशन गर्ने कार्ययोजना विभागको रहेको छ। यसअघि गत जेठ २५ देखि असार ८ गतेसम्म हुने भनिएको जनगणना कोरोना महामारीको जोखिमका कारण स्थगित भएको थियो।